च्याउले चम्किएका कमल

२०५७ सालको कुरा हो । 

कमल पुन मगरसँग एक सय रुपैयाँ पनि थिएन । तर, उनीसँग थियो एउटा हुटहुटी । त्यही हुटहुटीका कारण उनी केही गर्न चाहन्थे ।

त्यसो त त्यति बेला उनले के गर्ने भन्ने पनि थाहा पाएका थिएनन् । न उनले पढेका थिए, न उनले भोलि के गर्ने भन्ने सिस्टमेटिक योजना नै त्यसअघि बनाइसकेका थिए । 

धनगढी उपमहानगरपालिका १२ का ३७ वर्षका कमललाई आजभन्दा २० वर्षअघि के चाहिँ थाहा भइसकेको थियो भने उनले जे गर्छन्, त्यसमा समय दिएर गर्नुपर्छ । उनलाई त्यति बेला नै लागेको थियो– पढ्न सकिनँ, तर अब जे गर्छु, त्यसमा ध्यान दिएर गर्छु ।

त्यसैको प्रतिफल हो, आज कमलले पाएको सफलता । अहिले कमललाई धनगढी बजारमा नचिन्ने कमै छन्, उनले चलाइरहेको उद्योगबारे थाहा नहुने कमै छन् । 

उनको उद्योग छ– धनगढी बजारभन्दा सात किलोमिटर भित्र जुगेडा गाउँमा ।



२०५७ सालमा आफन्तसँग एक सय पचास रुपैयाँ ऋण लिएर खेतीपाती सुरु गरेका कमलसँग अहिले  साढे २ करोडभन्दा धेरै लगानीको उद्योग छ। र, यो उद्योग हो– च्याउ उद्योग । 

‘सात कक्षासम्म मात्र पढ्न सकेँ, तर आफूले गर्न खोजेको काममा दृढ इच्छाशक्ति हुनुपर्छ भन्ने मलाई त्यति बेला नै लागेको थियो,’ फरकधारसँग कमलले भने, ‘मैले जे गर्छु भने त्यसमा निकै केन्द्रित भएर गरेँ, त्यसैले आज यो सफलता पाएको हुँ भन्ने लाग्छ ।’



नेपालमा च्याउ खेतीको सुरुवात केही अघि भएको हो । तर, कमलले आफूलाई च्याउ खेतीमा मात्र सिमित गरेनन्, उनले यसलाई प्रशोधन गर्ने पनि सुर गरे । 

‘यो नेपालमा नयाँ व्यवसाय हो, च्याउ उत्पादन हुने गरेको भए पनि प्रशोधन गर्ने सुरुवात नेपालमा भएको थिएन,’ कमलले भने, ‘नयाँ किसिमको व्यवसाय सञ्चालन गर्न पाउँदा म निकै खुसी छु र सन्तुष्ट पनि छु ।’

यो खुसी र सन्तुष्टि कमलले किन पनि पाएका छन् भने उनले अहिले फलाएको र प्रशोधन गरेको च्याउको माग सुदूरपश्चिममा निकै बढिसकेको छ ।

तर, यहाँसम्म आइपुग्न कमलले जे गरेका छन्, त्यो सबैका लागि उदाहरणीय समेत बन्न सक्छ । 

फेरि फर्किऔँ, २०५७ सालमा । त्यो वर्ष कमलले आफन्तसँग डेढ सय रुपैयाँ सापट लिएर एक कठ्ठा जमीनमा तरकारी रोपे । उनले डेढ समय लगानी गरेको तरकारीले तीन महिनामा नै उनलाई पाँच हजार रुपैयाँ दियो ।

‘डेढ सयले पाँच हजार कमाउन पाइयो,’ कमलले सम्झिए, ‘अनि त्यसबाट नै मैले आफ्नो व्यवसायलाई अगाडि बढाउन पाएँ । मेरो व्यवसायिक जीवनको लगानी भनेको नै त्यही डेढ सय हो ।’

तरकारी खेतीमा पहिले काम गरे पनि कमलले अहिले च्याउ खेतीलाई प्राथमिकता दिन थालेका छन् ।

‘हामीलाई एक जना कालीचरण चौधरी सरले पढाउनु हुन्थयो,’ कमलले आफू कसरी तरकारी खेती तर्फ तानिए भन्ने विषयमा जवाफ दिए, ‘मैले स्कुल जान छोडिसकेको थिएँ, तर कालीचरण सरले कृषिमा लाग न त भन्न थाल्नुभयो ।’

कालिचरण सरले कमललाई खासमा एउटा भविष्यको बाटो देखाउन खोजेका थिए । उनले पनि कालीचरण सरले भनेको कुरालाई मानेर खेतीपातीसम्बन्धी जति किताब भेटिन्छन्, ती पढ्न थाले ।

अनि २०६३ सालमा उनले कन्चनपुरमा च्याउ खेतीसम्बन्धी तालिम लिन पनि पाए । 

त्यसको दुई वर्षपछि उनी च्याउ खेतीमा होमिए ।

सुरुवाती चरणमा कमललाई फाइदा भएन, घाटा भयो । उनले गोब्रे च्याउमा त निकै घाटा व्यहोर्न पर्यो ।

‘च्याउ खेतीसम्बन्धी ज्ञान कम भएकाले हो,’ उनले भने, ‘त्यसपछि म नेपालका विभिन्न ठाउँमा गएर विभिन्न कृषि फर्मबारे हेर्न थालेँ, त्यहाँबाट ज्ञान सिकेर धनगढी फर्किएँ ।’

तर, यसले मात्र उनको चित्त बुझेन । २०७० सालमा उनी फेरि भारतको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवं प्रौद्योगिकी विश्वविद्यालय पुगे । त्यहाँ उनले कृषिसम्बन्धी विभिन्न शिक्षा लिन पाएँ ।

‘सुरुमा त अप्ठ्यारो लागेको थियो, म विश्वविद्यालयमा भर्ना भएको थिइनँ, अरुले के भन्ने हुन् भन्ने लागिरहन्थ्यो,’ कमल हाँसे, ‘तर, पछि लाग्यो– जो होगा देखा जायगा ।’

त्यहाँ उनले जे सिके, त्यसलाई गाउँ फर्किएर अभ्यास गर्न थाले । 

नेपालमा जसरी च्याउ उत्पादन गर्ने भन्ने सिकाइएको थियो, भारतमा त्यसभन्दा फरक थियो । ‘त्यहाँ सिकाइएको प्रविधि र भारतमा सिकाइने प्रविधिमा फरक पाएँ, त्यहाँ गोब्रे च्याउको लागि बनाइने कम्पोस्ट मल, माटो राख्ने विधि सिकेपछि मैले लगाएको गोब्रे च्याउपनि सप्रियो,’ कमलले भने । 

विश्वविद्यालयबाट कृषि ज्ञानको तिर्खा नमेटेपछि उनी २०७१ सालमा भारतीय कृषि अनुसन्धान केन्द्र दिल्लीमा पनि पुगे । त्यहाँबाट थप ज्ञान लिएर उनी भारतकै हरियाणास्थित सोनी पथ च्याउँ अनुसन्धान केन्द्र पुगे । 

‘प्राविधिक ज्ञान सिकेपछि म किसानकै फर्म अवलोकन गर्न चाहन्थेँ, पछि हरियाणा सोनीपथ मसरुम अनुसन्धान केन्द्रकै सहयोगमा भारतीय कमल चौहानले सयौं विघा क्षेत्रफलमा गरेको व्यावसायिक च्याउ खेतीको अवलोकन गर्ने मौका पाएँ,’ कमलले भने, ‘त्यसपछि अहिले पनि च्याउ खेतीमै लागिरहेको छु ।’

२०७१ सालमा २० लाखको लगानीमा कमलले जुगेडामै ओम केदार च्याउ तथा तरकारी फर्म सुरुवात गरे । लगानी बढाउँदै उनले २०७३ सालमा एसियाली विकास बैंकको सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजना र आफ्नो गरी १ करोड ८ लाख पु¥याए । अहिले उनको लगानी झण्डै २ करोड २० लाख रुपैयाँ पुगेको छ । विभिन्न आधुनिक प्रविधि सहित व्यवसाय थालेका उनी गोब्रे च्याउको क्यानिङ अर्थात् प्याकेजिङ गरी दुई वर्षसम्म खान सकिने प्रविधिको विकास गरिरहेका छन् । च्याउको पाउडर निर्माण गर्ने मुलुककै पहिलो कृषि फर्म आफ्नो भएको दाबी गर्छन् उनी ।

‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको ग्रोबे च्याउँ आयात हुँदै आएको छ । हाम्रो बाहेक अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन । जुन कारणले हाम्रो प्रतिस्पर्धी नै छैन, बजार पर्याप्त छ,’ उनले आफूले सुरु गरेको प्रविधिबारे भन्छन्, ‘बजार राम्रो पाएकाले अहिले उत्पादन पनि बढाउँदै गइरहेका छौँ ।’

उनको उद्योगमा प्रतिघण्टा साढे दुई क्विन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्विन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता छ । दुई विघाह क्षेत्रफलमा फैलिएको उद्योगले ग्राहकको माग पु¥याउन सकेको छैन । उनको उद्योगमा उत्पादित च्याउ धनगढी, अत्तरिया, पुनर्वास, बैतडी, डडेल्धुरा, नेपालगञ्ज र काठमाडौँबाट समेत माग हुने गरेको छ ।

कुनै समय आर्थिक अवस्था निकै दयनीय भएको कमलको परिवार अब अहिले अलिक सक्षम बनेको छ । यही च्याउ खेतीबाट नै कमलले घरजग्गा जोडेका छन्, वार्षिक केही लाख आम्दानी गरिरहेका छन् । 

‘अहिले त झन् च्याउ प्रशोधन उद्योगको परीक्षणमा छु,’ कमलले भने, ‘कैलालीको जुगेडालाई च्याउँका लागि पकेट क्षेत्र बनाउने योजना छ ।’

च्याउकै कारण धनगढीमा चम्किएका कमल आफ्नो अनुभवकै कारण पनि आम युवालाई भन्छन्– हातपाखुरा चलाएर स्वदेशमै बस्नुपर्छ, नेपाल सुनखानी हो, विदेश जानै पर्दैन ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १२:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया