नेकपामा वारपारको स्थिति, ओलीले बैठक बोलाएनन् भने के हुन्छ ?
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादले झन चर्को रुप लिने देखिएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सचिवालयका बहुमत सदस्यहरुले दोस्रोपटक छुट्टै छलफल गरेर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई बिहीबारसम्मको अल्टिमेटम दिएका छन्। 

६ दिनअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमै भेटेर तत्काल बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका थिए।

साथै उनीहरुले ओलीलाई ४८ घण्टे (आइतबार र सोमबारसम्मको) अल्टिमेटम समेत दिएका थिए। तर ओलीले बैठक बोलाएनन्। बरु विधानअनुसार बैठकको तयारी गर्नू भन्दै महासचिव विष्णु पौडेललाई निर्देशन दिए। ओलीले विधानको धारा ५९ आकर्षित गर्दै बैठक १५ दिन पर धकेल्न खोजेका थिए। 

पाँच नेताले बुझाएको पत्रमाथि तोक लगाउँदै ओलीले विधानअनुसार गर्नू भनेर अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पार्टी महासचिव विष्णु पौडेललाई सन्देशसहित पठाएका थिए। तर प्रचण्डले कुनै ठोस जवाफ नपाएको भन्दै त्यसलाई स्वीकार गरेनन्।   

नेताहरुले एकदिन बाटो हेरे। मंगलबार पनि बैठक बसाल्न ओलीले रुचि देखाएनन्। मंगलबार साँझ सचिवालयका पाँच नेता फेरि धुमबाराहीमा जम्मा भए।  अनौपचारिक छलफल गरी बिहीबारका लागि बैठक बोलाउने निर्णय गरेका छन्। प्रधानमन्त्री ओलीले सहमति नदिए पनि बिहीबार प्रचण्डको अध्यक्षतामा बैठक बस्ने तयारी उनीहरुको छ। मंगलबार धुम्बाराहीमा अनौपचारिक बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगी ओलीलाई भेटेका थिए। 

गत भदौ २६ गते बसेको नेकपा स्थायी समितिको बैठकले गरेको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्न नमानेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। पार्टीको विवाद उत्कर्षमा पुगेपछि ओलीले सचिवालयको औपचारिक बैठक बोलाउन अस्वीकार गर्दै आएका छन्। तर, कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले भने, ओलीलाई दबाब दिन अनौपचारिक बैठक गर्दै आएका छन्। 



बेलुकीसम्म बैठक डाक्ने तयारी

अध्यक्ष प्रचण्डलगायतका पाँच नेताले ओलीलाई बैठक बोलाउनका लागि दुई दिनको समय दिएका छन्। बुधबार प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएकाले पनि दुई दिनको समय दिइएको हो। 



त्यसो त ओलीले महासचिवलाई विधानअनुसार गर्नू भनेर भनिसकेकाले बेलुकीसम्म बैठक बोलाउने सम्भावना रहेको छ। यो कुरा नेकपाका एक स्थायी कमिटीका सदस्यले पनि पुष्टि गरे। ‘बेलुकीसम्म महासचिवले बैठक बोलाउनुहुन्छ’ ती नेताले भने,  ‘बैठक बोलाउने तयारी छ। प्रधानमन्त्री ज्यूले नै बैठक बोलाउन भन्नुभएको छ।’
 

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १४:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया