के फेरि उपत्यकामा हुँदै छ कडा लकडाउन ?
फाइल तस्वीर ।

बुधबार नेपालमा २५६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यीमध्ये काठमाडौंमा मात्र नयाँ संक्रमित थपिएको संख्या हो– १२६१ । नेपालभर थपिएका कोरोनाभाइरस संक्रमितको संख्यामा झन्डै आधा संख्या हो, काठमाडौं उपत्यकाको । 

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको मात्र होइन, कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । यसले सरकारी अधिकारीहरु तथा स्वास्थ्य विद्हरुलाई चिन्ताको विषय बनेको छ, के कोरोनाले ठूलो महामारीको रुप काठमाडौंमा लिने त होइन ?

यहीबीच बुधबार मात्र कोभिड १९ संकट व्यवस्थापन (सिसिएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरले र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच विशेष छलफल पनि भएको छ । 

त्यसपछि बाहिर समाचारहरु आएका छन्, काठमाडौंमा तिहार र छठपछि फेरि कडा लकडाउन गर्न सिफारिस भएको हो ।

आज भएको छलफलमा अब कोरोना संक्रमणको अहिले बढ्दै गरेको चक्र तोड्नका लागि प्रभावकारी समन्वय गरेर अगाडि बढ्ने विषयमा चर्चा भएको बैठकमा सहभागी एक अधिकारीले फरकधारलाई बताएका छन् । 

यसका लागि अब चाडवाड सकिए लगत्तै काठमाडौंमा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको भनिएको छ । 



तर, यसबारे अहिलेसम्म कुनै टुङ्गोमा पुगिएको छैन । त्यसैले प्रश्न उठ्छ– के काठमाडौंमा फेरि कडा लकडाउन होला त ?

हो, आजको बैठकमा यस विषयमा छलफल भएको थियो । तर, अहिले नै उपत्यकामा फेरि लकडाउन गर्ने या नगर्ने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन । 



तर, एकपटक हामीले विश्वको ट्रेन्डलाई हेरौँ ।

बेलायतमा केही दिन यता फेरि लकडाउनको निरन्तरता भएको छ। त्यस्तै, फ्रान्स र जर्मनीमा पनि पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि केही निकै कडा नियमहरु लगाइएको छ । यस्ता नियम र त्यहाँ लगाइएको प्रतिबन्ध यसअघि मार्चमा देखिएको संक्रमणको दर अहिले त्यहाँ देखिएको दोस्रो लहरका कारण उस्तैउस्तै लाग्न सक्छन् । 

उपत्यकामा फेरि लकडाउन हुन सक्ने सम्भावना पनि विश्वका यी ट्रेन्डले देखाउँछन् । 

तर, अर्कोतिर लकडाउनका कारण अहिलेसम्म नेपाली अर्थतन्त्र निकै खुम्चिइसकेको छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाउने कुरालाई अझ कडा बनाउनु पर्ने तर लकडाउन गर्न नहुने व्यवसायीहरुले बताउँदै आएका छन् । 

यसले गर्दा अब तिहारपछि काठमाडौंमा उच्च सतर्कता अपनाउन केही साताका लागि लकडाउन हुनसक्ने सम्भावना बढेको छ ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार २१:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया