सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद तत्काल समाधान हुन सक्ने सम्भावना कम हुँदै गएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै अडानमा रहेकाले अहिले नै नेकपामा देखिएको यो विवाद समाधान हुने सम्भावना कम हुँदै गएको हो ।
नेकपा अध्यक्ष दुवैले चाहिँ पछिल्लो समय सार्वजनिक रुपमा र आफूनिकट नेताहरुसँग पार्टीमा फुट आए पनि अब स्वीकार्य हुने अर्थका अभिव्यक्ति दिन थालेका छन् ।
बुधबार संखुवासभा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै हालतमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पदबाट राजीनामा नदिने बताएका छन् । यता, ओली संखुवासभा पुगेपछि आफूनिकट नेताहरुसँगको छलफलमा पुष्पकमल दाहाल प्रचण्डले चाहिँ अब पार्टीमा फुट आए पनि पूर्वमाओवादी र पूर्वएमाले भनेर आफूहरु नबस्ने बताएका छन् ।
उनीसँगको छलफलमा सहभागी एक नेताले फरकधारलाई बताए, ‘पार्टीमा जुन अराजकता बढ्दै गएको छ, त्यसका कारण पार्टीमा फुट आउन सक्ने सम्भावना पनि बढेको छ तर अहिले नै पार्टी फुट्छ भन्नु ठिक हुँदैन ।’
उनले नेकपामा अहिलेको देखिएको विवाद उत्कर्षमा पुग्दा पनि पार्टी फुटाउने नै भनेर दुवै अध्यक्ष वा पक्षले नभनेकाले अहिले नेकपा फुट्छ भन्नु हल्लामात्र हुनसक्ने बताए ।
तर, दुवै अध्यक्षले केही दिन यता आफूहरु अब पार्टीमा फुट आए पनि त्यसका लागि तयार रहेको बताउन थालेका छन् । केहीअघि मात्र अध्यक्षद्वयले भेटमा पनि यस विषयमा कुराकानी गरेको स्वयं प्रचण्डले आफूनिकट नेताहरुलाई बिफ्रिङ गरेका थिए ।
अर्कोतिर, प्रचण्ड तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरु अर्का अध्यक्ष ओलीले जे गरिरहेका छन्, त्यसबाट पार्टी अहिले नै दुई टुक्रा भइसकेको बुझाइमा छन् ।
‘पछिल्लो समय नेकपामा विवाद समाधानका लागि बनेको कार्यदलले एउटा प्रतिवेदन बुझाएको थियो,’ प्रचण्डनिकट अर्का एक नेताले भने, ‘तर, त्यसपछि प्रधानमन्त्री ओलीले जे जे गरेका छन्, ती सबै एकताको भावनाविरुद्ध छन् ।’
कर्णाली प्रदेशमा भएको विवाद, राजदूत नियुक्ति र मन्त्रिमण्डलमा भएको हेरफेरमा प्रधानमन्त्री ओलीले एक्लै निर्णय गरेकाले अहिले पार्र्टी एक रहेको आभास कमले गर्न थालेको प्रचण्ड पक्षको बुझाइ छ ।
अर्कोतिर, केहीअघि पर्सामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा पनि निष्पक्ष छानबिनका लागि ओली पक्ष बाधक बनेको बुझाइ प्रचण्ड समूहको रहेको छ । यसका कारण यी दुई नेताबीच अहिले सहमति हुनसक्ने सम्भावना कम हुँदै गएको नेकपाका नेताहरुको तर्क छ ।
‘अहिलेसम्म पार्टीमा सिद्धान्तको विषयमा कुनै बहस भएको छैन,’ नेकपामा नेता नेपालनिकट एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘यो अहिले भइरहेको विवाद हाम्रा नेताहरुबीच भागवण्डा नमिलेकाले हो । त्यसैले जुनसुकै समयमा जब नेताहरुबीच भागवण्डा मिलेको आभास हुन्छ, तब पार्टीमा फेरि विवाद सामसुम भएको जस्तो देखिन्छ ।’
तर, यस्ताखाले विवाद अब पार्टीमा सधैं रहिरहने पनि उनले बताए । ‘अहिले पनि पार्टी भागवण्डाको आधारमा चलेको छ, कुनै एक नेताले आफूले चाहेको पदका लागि विवाद झिकिरहेका छन्,’ उनले भने, ‘यसले गर्दा पार्टीलाई भलो त गरेको छैन तर यसबारे पार्टीमा नेताहरु गम्भीर भएका पनि छैनन् ।’
विचारको विवाद नभइ पद र शक्तिको विवाद भएकाले यसले पार्टी नै फुटाउने सामथ्र्य नराख्ने पनि उनको तर्क छ ।
पछिल्लो समय नेकपाका नेताहरुमा पार्टी विभाजन गरेको खण्डमा आफूहरु कमजोर हुने अनुमान बढ्दै गएको पनि बुझाइ बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होस् या अध्यक्ष प्रचण्ड पक्षले नै किन नहोस्, जसले पार्टी फुटाए पनि आफू नै कमजोर हुने सम्भावना अनुमान गर्न थालेका छन् ।
‘प्रचण्डलाई पनि पार्टी अलग गरेर जाने हो भने अहिले भइरहेको शक्ति पनि कमजोर हुने र ओलीलाई पनि पार्टी फुटाएर आफू अगाडि बढ्न खोजे अहिले भइरहेको प्रधानमन्त्री पद पनि गुम्ने डर पक्कै छ,’ नेकपाका ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले विवाद गरौँ, एकअर्कालाई कमजोर बनाऔँ भन्ने सबैको भावना रहेको छ । तर, पार्टी नै फुटाउने पक्षमा दुवै पक्ष देखिँदैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।