नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले भण्डारण गृह निर्माण गर्न लागिएको निगमको भनाइ छ ।
तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच÷पाँच हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिने बताइएको छ । करबाहेक ७७ करोड ७७ लाखको लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उक्त भण्डारण गृह निर्माण भएपछि कम्तीमा ४० देखि ४५ दिनको इन्धनको माग धान्न सक्ने उनको भनाइ छ । यो नेपालकै दोस्रो ठूलो भण्डारण गृह हुनेछ ।
हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि शुरु भएको पनि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । पोखरा डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको विक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने उनको विश्वास छ ।
उक्त भण्डारण गृह निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । पहिलोपटक नेपाली ठेकेदारसहित भारतीय निर्माण कम्पनीले परियोजना निर्माण गर्दै छ । आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको आयोजना प्रमुख मनोजकुमार ठाकुरले जानकारी दिए ।
निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । प्रादेशिक डिपोबाट हाल दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ । यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टिलेल ७६० किलोलिटर रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।