रविन्द्र मिश्रसँग केही अनुत्तरित जिज्ञासा

आदरणीय रविन्द्र सर,

वरिष्ठ पत्रकार श्री रवि लामिछानेज्यूले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा तपाईंको हिजोका दिन, आजका गतिविधि र भोलिका आयामहरू प्रस्तुत गरिरहँदा साझा पार्टीको उद्देश्य र भावी राजनीतिक कार्यदिशाका बारेमा केही जान्न पाइयो । तर, तपाईंले कल्याणकारी अर्थतन्त्रको बहस गर्दैगर्दा नेपालका बहुसंख्यक कृषक, मजदुर तथा साना व्यवसायीहरूसँग प्रत्यक्ष सरोकारका पक्षहरू भने ओझेलमा परेको महसुस गरें ।

साधारहणतया नेपालको अर्थ व्यवस्थाका बारेमा तपाईंको प्रस्तुति फितलो नै पाएँ र पत्रकार महोदयज्यूको जिज्ञासा पनि किसान तथा मजदुर वर्गको बारेमा खासै अब्बल रहेन । यसरी राष्ट्रिय प्रशारणको टेलिभिजन कार्यक्रममा फरक धारको राजनीतिमा बहस भइरहँदा यी पक्षहरूको उठान नहुँदा म जस्ता कृषि पेसामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न व्यक्तिमा केही जिज्ञासा भने अनुत्तरित नै रहे । 

तथापि फरकधारको राजनीतिको स्थापनार्थ तपाईंको यो दृढ अठोट र अहोरात प्रयासलाई हृदयबाट नमन गर्दछु । तपाईंको यो छोटो राजनीति यात्रामा अनेक उतारचढाव आए, परम्परागत पार्टीहरूका झै फुट र जुटको सामना पनि गर्नुपर्‍यो जुन अवश्य पीडादायी छन्, तर अस्वाभाविक र अकल्पनीय भने पक्कै होइनन् ।

यही कुराले मात्र मलगायत फरकधारको राजनीतिमा आस्था राख्नेहरू निराश भएका छैनौं । आज पनि तपाईं उत्तिकै अविचलित र अडिग हुनुहुन्छ, लोक–कल्याणकारी अर्थतन्त्रले परिकल्पना गरेको समाजको स्थापनाका लागि । तपाईंको यो आत्मविश्वास र अग्रसरताले पक्कै पनि हामी जस्ता युवामा आजको राजनीतिप्रति चासो भने जगाएको छ । सायद नेपालको राजनीति हामी जनमानसले कल्पना गरे जस्तोसिधा र सरल नहोला ।

त्यसैले होला म कहिले काहीँ तपाई अग्रसररत फरकधारको राजनीति लोक–कल्याणकारी अर्थतन्त्रको बाटोबाट कता–कता हराएको महसुस गर्दैछु । म चाहन्छु मेरो यो सोच गलत सावित होस् ।



भारतीय सरकारी गुप्तचर संस्थाका प्रमुखको नेपाल भ्रमणबाट उब्जेका प्रश्नहरू तपाईंले जोडबलका साथ उठाउनु भयो । होला यसले नेपालको केन्द्रीय राजनीतिमा विशेष अर्थ त राख्ला, तर यसको तात्त्विक महत्त्व महोत्तरीका उखुको मूल्य नपाएका किसानहरूलाई अवश्य नहोला ।

म आशावादी थिएँ तपाईंबाट सारा नेपाली किसानहरूको आवाज सुन्नलाई । तपाईंले न ती उखु किसानको आवाज बोल्नु भयो, न सारा किसानले मल नपाएको चिच्याहट सुन्नु भयो । किन हो कुन्नि आजको मितिसम्म पनि किसानले धानको न्यूनतम मूल्य नपाएको गुनासो तपाईंले बोल्नु भएको छैन । मलाई आज कुनै सम्झना छैन यस फरकधारको राजनीतिक अभियानार्थ तपाईंले कुनै किसानको आँगनमा उभिएर लिएको एउटा तस्बिरको । न कुनै किसानहरूको आन्दोलनमा होमिएको । अवगत गराउन चाहें फेरि पनि गहुँ किसानहरूमा मलको हाहाकार हुँदै छ रे । आज ती हजारौं किसानको आवाज कसैले सुनेको छैन । तपाईं एकजनाको आवाज लाखौं करोडौंले सुन्छन् । आशा गर्छु तपाईंले यी समस्यामा बोल्नुहुनेछ र यस्ता विषयले पनि राष्ट्रिय राजनीतिमा स्थान पाउने छन् ।



असहाय तथा गरिबलाई खुलामञ्चमा खाना खुवाउँदा जसरी महानगरपालिका प्रस्तुत भयो त्यो अवश्य नै अशोभनीय थियो र यसलाई साझा पार्टीले जसरी प्रतिरोध गर्‍यो त्यो अत्यन्त प्रशंसनीय छ । आज यो महामारीको विषम परिस्थितिमा जसरी राष्ट्रिय आविष्कार केन्द्रको सान्दर्भिकता प्रष्टिएको छ, त्यसलाई राज्य सत्ताले महसुस गर्न नसके पनि सारा नेपाली जनताले स्विकारिसकेका छन् । साझा पार्टीले सरकारले कोरोना उपचार तथा विदेशमा अलपत्रलाई उद्दारको नाममा गरेको व्यापार तथा राजनीतिलाई चर्को आवाजमा विरोध गरिदियोस् । ताकि आजको समसामयिक राजनीतिमा लोक–कल्याणकारी अर्थतन्त्रको सान्दर्भिकता झल्कियोस् । तर, साझा पार्टी, विशेषतः तपाईं रविन्द्र मिश्रज्यू काठमाडौं उपत्यकाभन्दा बाहिरको राजनीतिमा अझै पनि अभ्यस्त देखिनु भएको छैन । सायद त्यसैले होला काठमाडौं उपत्यकाभन्दा बाहिरको नेपालमा जीवीकोपार्जन गरिरहेका किसानहरूप्रति लक्षित, ज्याला–मजदुरहरू अभिप्रेरित तथा साना व्यावसायी उत्प्रेरक आवाजहरूमा तपाईंको ऐक्यबद्धता त देखिन्छ, तर संलग्नता भेटिँदैन ।

तपाईंले आज लोक–कल्याणकारी अर्थतन्त्रको वकालत गरिरहँदा ७० प्रतिशतभन्दा बढी जनता जो कृषिमा आधारित छन्, तिनीहरूको आवाज किन बोलिँदैन । आज पनि नक्कली बिउको बिगबिगी वा रासायनिक मल नपाएको समस्यामा किसान पिल्सिएका छन् । एकातिर किसानका बाली–फसललाई बजारको समस्या छ, अर्कोतिर बिचौलियाहरूको अराजकताले आम–उपभोक्तामा नैराश्य । असहाय गरिबलाई ‘खाना खुवाउने’ अभियान सुरु गर्नुभयो जुन सारै सराहनीय छ । तर, किन सोचिएन किसानहरूबाट प्रत्यक्ष चामल खरिद गरी सहरका भोका पेटहरू भर्न । खै युवाहरूलाई स्वरोजगार अभियान । तपाईंले त बानेश्वर र माइतीघर मात्र देख्नुभयो । छिमेकी मुलुक भारतको आम–आदमी पाटीको नक्कल गर्दै राजधानी केन्द्रित हुनु त भएन कतै ? 

नेपाल एक कृषिप्रधान देशको राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति दर्शाउँदै गर्दा बहुसंख्यक कृषकहरूका समस्यालाई उपेक्षा गर्न कसरी सकिएला र ? कृषि क्षेत्र जसले नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको छ, त्यो नै आज कल्याणकारी अर्थतन्त्रको सिद्धान्तमा आधारित फरकधारको राजनीतिमा ओझेल परेको छ । तपाईंका हरेक भाषण र अन्तर्वार्तामा सुशासनको फेहरिस्त लगाउनु हुन्छ, जुन आजको घडीमा अत्यन्त महत्त्वपूर्ण छ तर अवश्य पूरक भने छैन । आज हामी किसान र आम–उपभोक्ता लक्षित अनेकौं कार्यक्रम सञ्चालन गर्न सक्छौं । आउनुहोस् हामी सबै मिलेर गाउँ–गाउँ बस्ती–बस्ती पुग्न विभिन्न योजना बनाऔं, कार्यक्रमहरू सञ्चालन गरौं जसमा तपाईंलाई हामी सबैको पूर्ण साथ र सहयोग रहनेछ ।

तत्कालीन एमालेको नौ महिने शासनकालमा प्रधानमन्त्री मनमोहन अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ जस्ता जनप्रिय कार्यक्रम सञ्चालन गर्नुभयो । त्यसयता कल्याणकारी वृद्ध भत्ता कार्यक्रमको व्याज आज पनि नेपाल कम्युनिस्ट पार्टीले खाइरहेको छ । खै हाम्रा किसानमुखी गाउँ–स्तरीय आर्थिक विकासका अभियानहरू । सुरुवात गरौं न, हामी पनि गाउँ–गाउँमा आर्थिक तथा सामाजिक रूपान्तरका कार्यक्रमहरू । न कि केवल आफ्ना कार्यकर्तालाई ‘फरक राजनीति’को रटान । अन्यथा वस्तुगत रुपमा भन्नुपर्दा त्यस्ता उदाहरण के छन्, जुन आज साझा पार्टीले मूलधारका राजनीतिक पार्टीहरूले भन्दा फरक ढंगले पस्किएको ।

म सुन्न चाहन्छु साझा पार्टीले सानो अभियानकै रूपमा भए पनि किसानहरूको धान–अन्न खरिद गरी सहरका गरिबहरूको भोक मेटाएको । म पनि बन्न चाहन्छु यस अभियानको एक सारथी । तर, खै किन हो कुन्नि किसान र उपभोक्ताको आवाज त्यो फरकधारको राजनीतिले सुनेन, देखेन र बोलेन । हिजो तपाईंले राष्ट्रिय सभामा सही उम्मेदवारलाई भोट गर्ने निर्णय गर्दा खुसी लागेको थियो । यस्ता धेरै निर्णयहरू छन् जसको मुक्तकण्ठले प्रशंसा गर्दछु । गुनासाहरू छन् त केवल तपाईंले गरिबको आवाज नसुनेको, किसानको आवाज नबोलेको । न कुनै किसानको पहुँच छ तपाईँसम्म पुग्नलाई, न कुनै आम–उपभोक्ताको । त्यसैले आज यो पत्र तपाईंलाई सम्बोधन गर्दै लेखेको, किनकि तपाईं नै आज सारा नेपालीको निर्विकल्प आशा–भरोसाको पात्र हुनुहुन्छ । कृपया यसलाई टुट्न नदिनु होला ।

तपाईंको सदा शुभेच्छुक 
श्याम बस्नेत

  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १५:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया