५८ वर्षीय गोपाल परियार खुला मञ्चमा बाँडेको खानामा निर्भर हुन थालेको ४ महिना भयो। यही खानाकै भरमा सास धानिरहेको उनी सुनाउँछन्। ‘यहाँ खाना नपाएको भए त म मर्थेँ हजुर’ गोपाल दुखेसो पोख्छन्।
उनी सुन्धाराको सडकपेटीमा लुगा सिलाएर जीवन चलाउँथे। दिनभरि काम गर्थे। होटलमा खाना खान्थे। सडकपेटीमा सुतेर रात कटाउँथे। विगत सात वर्षदेखि यसरी नै घिस्रिरहेको थियो गोपालको जीवन।
गत फागुनमा उनको लुगा सिलाउँने मेसिन चोरी भयो। उनको दाहिने हात दुखिरहन्थ्यो गत फाल्गुन ७ गते धेरै नै दुखेपछि उनी अस्पताल गए। डाक्टरले हातको सामान्य जाँच गरेपछि खाने औषधि लेखिदिए। औषधि बोकेर मेसिन राखेको ठाउँमा आउँदा मेसिन थिएन। उनी छाँगाबाट खसेजस्तै भए।
कसले लग्यो होला मेसिन ? गोपाल अन्योलमा परे। उनले सात वर्षदेखि चिन्दै आएका ‘हप्पु’ नाम गरेका व्यक्तिले चोरेको अनुमान लगाए तर आफ्नै आँखाले नदेखेकाले किटेरै भन्न सकेनन्।
जीवन धान्ने एउटै आधार त्यही मेसिन थियो। त्यो पनि चोरी भएपछि उनको जिन्दगी झन् अनिश्चित बन्यो। अर्काे मेसिन किन्न पुग्ने पैसा पनि थिएन, गरिखाने अरु सिप पनि थिएन। गाह्रो, गह्रँगो काम गर्न ज्यान बुढो भइसकेको थियो। के गर्ने कसो गर्ने अलमलमा परे उनी। के गर्ने कसो गर्ने भन्दैमा एक महिना बित्यो।
कोरोना संक्रमणको जोखिम भएको भन्दै सरकारले लकडाउन सुरु गर्यो। आफूसँग भएको अलिअलि पैसाले केही दिन काम चलाए। लकडाउन खुलिहाल्ला र केही उपाय लाग्ला भन्ने आशमा दिन बित्दै गयो।
चिनेका केही होटलमा उधारो खान थाले। ‘कमाउने आधार छैन कतिदिन दिउन् होटलले खान ?’ गोपाल प्रश्न तेर्स्याउँछन्, ‘आफैंलाई लाज लागेर जानै सकिन ।’ सबै होटलमा गरेर खाएको १५ हजार तिर्न बाँकी रहेको उनले सुनाए।
कुनै विकल्प नदेखेपछि उनी संकटा मन्दिरको छेउमा माग्न बसे ।
तपाईंका कोही आफन्त छैनन् ? यो प्रश्न सुन्नेबित्तिकै गोपाल विगत कोट्याउन तम्सिए।
कुनै समय उनीसँग राम्रो व्यवसाय थियो। माया गर्ने श्रीमती थिइन् अनि बा भन्दै अघिपछि लाग्ने सन्तान पनि। नियतिका केही खटन र आफ्नै केही कमजोरीका कारण गोपाल सडकमा आइपुगे र बिस्तारै सडक नै उनको संसार भयो।
१६० रुपैयाँ ऋण
उनी आफ्ना अतीत कोट्याउँदै गए। दोलखा हो उनको पूर्ख्यौली थलो। खेती गर्न प्रशस्त जमिन नभए पनि बाबुआमाले लुगा सिलाउने काम गरेर जिनतिन परिवार धानेका थिए। ‘दिनभरि काम गर्दा पनि पेटभरि खान नपुग्ने,’ गोपाल ती दिन सम्झिन्छन्, ‘चामलको भात खान त एकसाता वा महिना दिन नै कुर्नुपर्थ्यो, त्यो पनि पेटभरि कहाँ पाउनु?’
घर पुरानो भएको थियो। गोपालका बाले नयाँ घर बनाउने निर्णय गरे। चारै दाजुभाइलाई सँगै राखेर बाले सम्झाए ‘यो घर बनाउँदा लागेको ऋण चार भाइले बराबर तिर्नुपर्छ’ जम्मा १२ वर्षका थिए गोपाल। घर बन्यो अनि गोपालको भागमा पर्यो ८ बिस अर्थात् १६० रुपैयाँ ऋण। आफ्नो भागमा परेको ऋण कसरी तिर्ने ? उनी चिन्तामा थिए। छिटो तिर भनेर बाले निरन्तर दवाव दिन थाले।
यसैबीच काठमाडौँमा बसेर सिलाइको काम गर्ने उनका काका गाउँमा आए। गोपालले काकालाई समस्या सुनाए। काकाले काठमाडौं गयो भने काम पाइने आश्वासन दिए। गोपाल काकासँग काठमाडौं आउन तयार भए। '२०३२ सालको कुरा थियो त्यो' उनी सम्झिन्छन् ।
‘दोलाखाबाट हिँड्दै सिन्धुपाल्चोकको लामेसाँघु आएपछि बल्ल गाडी चढ्न पाइयो ‘काठमाडौं तीन रुपौयाँमै आउन पाइने समयको कुरा हो यो’ गोपाल दायाँ हातका तीन औंला देखाउँदै भन्छन्।
‘बसबाट अहिलेको नयाँ बानेश्वर झर्दा साँझ परिसकेको थियो’ उनी अनौठो अनुभूति गर्दै सुनाउँछन्, ‘स्याल कराएको आवाज सुनेर छक्क परेँ। बाबै ! काठमाडौंमा पनि स्याल कराउने रहेछ ।’
काठमाडौं आइसकेपछि मरुहिटीमा डेरा लिएर बसेका उनका काका र मामाका छोराले उनलाई सिलाइकटाइको काम सिकाए। केही समयपछि लुगा सिउने एउटा मेसिन पनि किनिदिए। सडकमै बसेर लुगा सिलाउँथे। सिलाइको काममा निपुर्ण हुँदै गए। उनका दिन सहज हुँदै गए।
काठमाडौं आएको दुई वर्षपछि उनले आफ्नो भागमा परेको ऋण तिरे। त्यसको एक वर्षपछि बिहे गरे र श्रीमतीलाई आफूसँगै काठमाडौं ल्याए। सन्तान पनि भए।
कमाइ राम्रै भइरहेको थियो। उनको व्यवसाय सडकपेटीबाट सटरमा स्थानान्तरण भयो। जिन्दगीको रथ सहजै अघि बढिरहेको थियो।
टिकेन खुसी
खासै ठूलो सपना थिएन गोपालसँग। आफूसँग जे–जति छ त्यसैमा खुसी नै थिए। उनको खुसीमाथि बज्रपात आइलाग्यो। गोपालको कामको सिलसिलामा केही साताका लागि गाउँ गएका थिए। काठमाडौंमा उनकी श्रीमती ज्वरोले थला परिछिन्। ‘फोनको जवाना थिएन, काठमाडौं पुग्दा ढिलो भइसकेछ, उनी सुनाउँछन्, ‘टेकु अस्पतालमा लाँदा डाक्टरले जन्डिस बिग्रेको भने। केही दिनमै उनको मृत्यु भयो ।’
यो घटनापछि गोपाललाई सम्हालिन गारो भयो। आफैँलाई भन्दा धेरै माया गर्ने श्रीमतीको यादमा छट्पटाउन थाले, बेचैन हुन थाले। काममा ध्यान दिन सकेनन्। मदिराको नसामा दिन बिताउन थाले। पैसाको समस्या हुन थाल्यो। रक्सीको नसामा कहिले कहीँ बाटोमै सुत्न थाले। रक्सीसँगको मित्रता गाढा हुँदै गयो र परिवारसँग टाढिँदै गए।
‘श्रीमती नभएको घर मलाई घर जस्तो लाग्न छाड्यो ।’ टाउकोको टोपी हातमा लिएर धुलो टक्टक्याउँदै उनले भने।
गोपालका ४ छोरा र ३ छोरी थिए। बाबुको बानीबाट छोराहरु आजित भए। बाबुलाई वास्ता गर्न छाडे । बिस्तारै आ–आफ्नो बाटो लागे। छोरी बिहे गरेर गइसकेका थिए।
त्यसपछि गोपाल डेरामा भएको एउटा मेसिन र केही कपडा बोकेर सुन्धाराको सडकमा आए अनि डेरा फर्किएनन्।
अहिले उनीसँग त्यो मेसिन पनि छैन। अब मेसिन किन्ने पैसा जुटाए वा कसैले मेसिन दिइहाल्यो भने पनि उनको एउटा हात राम्रोसँग चल्दैन। आँखाले पनि खासै साथ दिँदैन।
गोपाल अहिले दिनभरी संकटा मन्दिरको छेउछाउमा बसेर माग्छन् अनि बेलुका खान खुल्ला मञ्च आइपुग्छन्। खुल्ला मञ्चमा खाना नखुवाउनु भनेर गरेको उर्दीबारे गोपाल जानकार छन्। त्यो उर्दी जारी गर्ने व्यक्ति को हो ? निकाय कुन हो उनलाई थाहा छैन। ‘सरकारले नखुवाउ भन्यो रे, हामीजस्ता गरिबका लागि कहिले पो सरकार थियो र ?’ गोपाल प्रश्न गर्छन्। आफ्नो जिन्दगीप्रति कुनै गुनासो छैन उनलाई। ‘अब काल पर्खिने हो, कुन दिन फ्यास्स हुन्छ’ गोपाल निर्धक्क भन्छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।