डा. खतिवडालाई अमेरिकाको राजदूत बनाउने प्रस्ताव प्रचण्डको होः ओली
शुक्रबार बसेकाे नेकपा सचिवालय बैठकमा दुई अध्यक्ष ।

पछिल्लो समय देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप नयाँ चरणमा पुगेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको पत्रले अहिले नै नेकपा विवाद समाधान होला भन्ने देखिँदैन ।

ओलीले पछिल्लो समय पार्टीमा देखिएका विवादलाई साम्य पार्ने हेतुले प्रचण्डको नाममा एक पत्र लेखेका छन् । यसलाई  यसअघि प्रचण्डले ओलीको नाममा लेखेको पत्रको जवाफका रुपमा पनि लिन सकिन्छ । 

पत्रका अनुसार अहिले नेकपामा देखिएको विवादको खास अर्थ नभएको प्रधानमन्त्री ओलीको दाबी छ । पछिल्लो समय राजदूत नियुक्तिको सन्दर्भमा भएको विवादमा ओलीले सबै छलफल भएर गरिएको दाबी गरेका छन् । 

प्रचण्डलाई लेखिएको पत्रमा विना सल्लाह राजदूत नियुक्ति भयो भन्ने विषयमा ओलीले सन्दर्भ निकालेका छन्, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको । उनले डा. खतिवडालाई अमेरिकाको राजदूत प्रचण्डको नै प्रस्तावमा गरिएको दाबी गरेका छन् । 

‘संयुक्त राज्य अमेरिकाको लागि प्रस्तावित राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावक कमरेड प्रचण्ड आफैं हुनुहुन्थ्यो,’ ओलीले आफ्नो पत्रमा दाबी गरेका छन् । यतिमात्र होइन, ओलीले यसअघि डा. खतिवडाले आफू पार्टीको काममा अब कतै नजाने स्पष्ट गरेको पनि ओलीले पत्रमा लेखेका छन् । 

‘डा. खतिवडाले पनि आफ्नो इच्छा कूटनीतिक क्षेत्रमा जाने नरहेको र पार्टीमा हुनेगरि काहीँ पनि नजाने स्पष्ट पानुभएको थियो,’ ओलीले लेखेको पत्रमा लेखिएको छ, ‘तर, मैले कमरेड प्रचण्डको प्रस्ताव अनुपयुक्त ठानिनँ ।’



यो तर्क गर्दै प्रधानमन्त्री ओलीले आफूले पार्टीमा कुनै सल्लाह नगरेको भन्ने बाहिर भ्रम छरिएको स्पष्ट पारेका छन् ।



  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार ५:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया