प्रचण्डको निष्कर्ष : ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै आचरण देखिएन (पूर्ण पाठ)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद जारी छ। विवादकै बीच नेकपाको ७०औं सचिवालय बैठक शुक्रबारबाट सुरु भएको छ। बैठकको पहिलो दिन बैठकका कार्यसूची तय गरिएको छ।

पार्टी स्थायी समितिको बैठकपछि जारी गरिएको अपानी, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रस्ताव प्रतिवेदन, बैठकको आह्वान गर्दै ओलीलाई पाँच जना नेताहरुले बुझाएको पत्र, त्यसको जवाफमा ओलीले बुझाएको पत्र लगायतका दस्तावेज अध्ययनका लागि समय दिइएको छ। 

मंसिर ३ गते बस्ने सचिवालयको बैठकमा ती सबै विषयमा गम्भीर रुपमा छलफल हुनेछ। यसैबीच अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत गर्ने दस्तावेज बाहिरिएको छ।  १३ पृष्ठ लामो उक्त प्रस्तावमा प्रचण्डले ओलीको खोइरो खनेका छन्। पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका ओलीका कारण पार्टी र सरकार बदनाम भएको आरोप लगाएका छन्। 

ओलीको व्यक्तिवादी, गुटवादी, एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको औँल्याएका छन्। प्रचण्डले वैचारिक-राजनैतिकदेखि संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पनि प्रश्न उठनएका छन्। पार्टी एकताका बेलामा गरिएका व्यवस्था र निर्णयहरुलाई ओलीले निरन्तर अतिक्रमण गरेको उल्लेख उल्लेख गरेका छन्। 

‘कमरेड केपी शर्मा ओलीले आफूलाई चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ। उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार गर्नु पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ’ प्रचण्डले भनेका छन् ।’  यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहमा नभई पार्टी र देशको हितका लागि आवश्यक सर्त भएको दावी उनले गरेका छन्।  

ओलीको आचरण, कार्यशैली र सरकारका नीतिलाई हेर्दा मार्क्सवाद-लेनिनवाद निर्देशक सिद्धान्त र समाजवाद उन्मुख कार्यदिशा कतै नदेखिएको ओरोप प्रचण्डले लगाएका छन्। 



‘कमरेड केपी शर्मा ओली कहिल्यै पनि उपरोक्त मूल्याङ्कन र राजनैतिक संश्लेषणप्रति व्यवहारमा सहमत देखिनु भएन। प्रचण्डको दस्तावेजमा भनिएको छ, ‘उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृति नीति बारे चर्चा गर्नुहुन्छ।’
सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि नसारिएको उनले बताएका छन्।  व्यवहारत: ओलीले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव-उदारवादी पूँजीवादलाई नै पच्छ्याइ रहेको दावी प्रचण्डले गरेका छन्। 

ओलीले पार्टी एकताको वैचारिक-राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको बरु त्यसका विरुद्ध क्रियाकलाप गरेको प्रचण्डको भनाइ छ। राजनैतिक प्रतिवेदनमाथि ओलीको स्वीकारोक्तिलाई प्रचण्डले सत्ता प्राप्ति र गुटस्वार्थ पुरा गर्ने हतियारका रुपमा मात्र प्रयोग गरेको आरोप उनको छ।  



पार्टी एकता र संविधानका आधारभूत वैचारिक, राजनैतिक पक्षमाथि ओलीबाट निरन्तर प्रहार भएकै कारण पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको प्रचण्डले उल्लेख गरेका छन् ।

‘क. के.पी. शर्मा ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा संकीर्ण गुटबन्दीको अभ्यास गर्नुभयो’ प्रचण्डको दस्तावेजमा लेखिएको छ, ‘पदहरु निजी सम्पत्ति झैं वितरण गर्दै षडयन्त्रपूर्ण खेलमा संलग्न भएका तथ्यहरु सार्वजनिक रुपमा छताछुल्ल भए ।’ 

ओलीको यस्ता कार्यले पार्टीका कार्यकर्ता र जनसमुदाय असन्तुष्ट हुने स्थिति बन्दै गएको उनको ठहर छ। 
उनले पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जुवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरुलाई किनारा लगाएको बताएका छन्। 

सामूहिकता, कम्युनिष्ट आचरण, जनवादमा आधारित केन्द्रीयताको शैली र कुशल नेतृत्वका गुण ओलीमा विल्कुल नदेखिएको प्रचण्ड दावी छ। प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण दिएको समेत आरोप लगाएका छन्। 

प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘वाइड बडी विमान खरिद,  सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला जस्ता काण्डलाई प्रधानमन्त्रीले छानबिन गर्नुको साटो यस्ता प्रकरणमा मुछिएकाहरुको ढाकछोप गरेको आरोप लगाएका छन्। 

 त्यसैगरी कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँगको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युताबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक हुँदा पनि कुनै कदन नचाली भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको आरोप लगाएका छन्। 

प्रचण्डले बैठकमा प्रस्तुत गरको प्रतिवेदनको पूर्णपाठ

  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार ११:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया