लक्ष्मीपूजाका कारण ह्वात्तै बढ्यो चहलपहल
लक्ष्मीपूजाको दिन बिहान जनकपुरमा देखिएको चहल-पहल । तस्वीर : सन्तोष यादव

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा लक्ष्मीपुजा र तिहारका कारण चहलपहल र कारोबार बढेको छ । बजारमा किनमेल गर्नेहरुको घुँइचो देखिन्छन् । लक्ष्मीपुजाका लागि आवश्यकसमानहरुको विक्री ह्वात्तै बढेको छ ।

गाउँ–गाउँबाट ट्याक्टर र बयलगाढामा केराको बोट ल्याएर बेचिरहेका छन् । लक्ष्मीपूजा गर्न घर तथा पसलको अगाडी केराको बोटले सजाउने चलन छ । केराको प्रतिबोट २५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

अरु बेलामा कहिल्यै विक्री नहुने अशोक रुखको हाँगा र कमलको फूल पनि विक्री भइरहेको छ । कमलको फूलले पूजा गर्दा माता लक्ष्मी प्रसन्न हुने र धन प्राप्त हुने सर्वसधारणको विश्वास छ । प्रायः हरेक घरका व्यत्ति र। व्यावसायीले अनिवार्य रुपमा कमलको फूल किन्ने गर्छन् । कमल फूल प्रतिगोटा ५० रुपैयाँया विक्री भइरहेको छ ।



यस्तै विभिन्न खालका लक्ष्मीका मूर्ति तथा तस्वीर खरिद गर्नेहरुको जानकी मन्दिरअगाडि ठूलो घुइँचो देखिएको छ । विगत एक सातादेखि लक्ष्मीको हजारौं मूर्ति र तस्वीर विक्री भएको व्यावसायी शिवम साहले जानकारी दिए ।

फूल र फुलको माला बेच्ने पसलले जनकपुरका बजार रंगीचगीं देखिन्छन् ।  सिमा नाका बन्द रहेका कारण यसवर्ष भारतबाट फूल आयात भएका छैन । स्वदेशमै उत्पादित फूलकै मात्रै कारोबार भइरहेको व्यावसायीहरु बताउछन् । फलफूल र मिठाइ पसलमा पनि भीडभाड देखिएको छ । 



महँगी बढेको गुनासो

जनकपुरमा यतिबेला हरेक समान महँगो भएको सर्वसधारणको गुनासो छ । पूजाका सर–समानदेखि तरकारीसम्मको भाउ आकाशिएको जनकपुर–८ की संगिता साहले बताइन् ।

‘गत वर्ष लक्ष्मीमाताको जुन मूर्ति १ सयमा किनेको थिएँ, आज उस्तै मूर्ति २५० रुपैयामा किन्नु पर्यो,’ उनले गुनासो गरिन्, ‘आलु प्रतिकिलो ८० रुपैयाँ छ ।’ तिहारकै कारण बजारमा हरेक समानको मूल्य बढेको उनको भनाई छ । 

यता, व्यावसायीहरु भने कोरोना महामारीका कारण विगत ८ महिनादेखि भारतीय सिमा नाका बन्द भएकाले महँगी बढेको बताउँछन् । 


 

  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १२:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया