शनिबार बिहान धनुषा जनकपुरधाम उपमहानगरपालिका–२० का संजिव साहले आफ्नै श्रीमती २१ वर्षीया आरती साहमाथि एसिड प्रहार गरे। आफ्नै पतिको कर्तुतका कारण अहिले आरती गम्भीर अवस्थामा जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा छटपटाइरहेकी छिन् । बाबुको एसिड प्रहारबाट घाइते भएकी उनकी ३ वर्षीया छोरी रिया पनि अस्पतालमा आमा छेउकै बसिरहेकी छिन्।
आरतीकी आमा सुनिता साह घाइते छोरी र नातिनीलाई कुरेर अस्पतालमा बसिरहेकी छिन्। उनको हात र टाउकोमा एसिड परेको छ ।
करिब साँढे ३ वर्षअगाडी संजिव र आरतीको विवाह भएको आरतीकी आमा सुनिताले जानकारी दिएकी छिन् । विवाह भएको केही समयदेखि नै आरती संजिवबीच झै–झगडा हुने गरेको आरतीको भनाइ छ ।
उपचार खर्च नदिएको निहुँ
सुनिताका अनुसार बिहे भएको १ वर्षजतिपछि संजिवकी आमा, अर्थात आरतीकी सासू दुर्घटनामा परेकी थिइन् । त्यतिबेला संजिवको परिवारले आरतीको माइतीसँग उपचारका लागि पैसा मागेका थिए।
आफूहरुको आर्थिक अवस्था कमजोर भएपनि उपचारका लागि केही पैसा दिएको सुनिताले बताइन् । उनीहरुले मागेअनुसार पैसा दिन नसकेपछि संजिंव र उनको परिवार आरतीमाथि खनिन थाले । त्यसपछि उनीमाथि कुटपिट गर्ने, दुर्व्यवहार गर्ने क्रम बढ्न थाल्यो।
गतवर्षको होलीका बेलामा संजिवले श्रीमती आरतीलाई बेस्सरी कुटपिट गरेपछि उनी माइतीमा बस्दै आएकी थिइन् । शनिबार बिहान खाना खाएर आँगनमा बसिरहेका बेला आएका संजिवले एक्कासी एसिड प्रहार गरेर भागेको पीडित आरतीले बताइन् । उनी पीडाले गर्दा राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा छिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।