मोडेर्नाको कोरोनाविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी, यसबारे जान्नै पर्ने सबै कुरा

अमेरिकी कम्पनी मोडेर्नाले बनाएको कोरोनाभाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । अमेरिकामा गरिएको एक अध्ययनमा यस्तो निष्कर्ष निकालिएको हो । 

यसअघि फाइजर कम्पनीले ९० प्रतिशतसम्म ठिक हुने भन्दै निकालेको कोरोनाभाइरस भ्याक्सिन पनि अहिले परीक्षणकै क्रममा छ । मोडेर्नाको यो भ्याक्सिन पनि फाइजरको जस्तै प्रभावकारी हुनसक्ने बताइएको छ । 

यी दुई भ्याक्सिनले अहिलेको महामारीलाई अन्त्य गर्न सहयोग गर्ने आशा गरिएको छ । 

दुवै कम्पनीहरुले आफूहरुले सिर्जनात्मक आविष्कार गरेको दाबी गरेका छन् । मोडेर्नाले चाहिँ यो भ्याक्सिन आउनु भनेको विश्वमा स्वास्थ्य क्षेत्रका लागि ठूलो दिन भएको बताइएको छ । अबको केही सातामा यो भ्याक्सिन प्रयोग गर्नका लागि आफूहरुले आवेदन दिने पनि मोडेर्नाले जनाएको छ । 

यो भ्याक्सिन आउनु ठूलो उपलब्धि भनिए पनि यसबारे केही प्रश्नहरु अझै अनुत्तरित छन् । 

यो भ्याक्सिन अहिले अमेरिकामा ३० हजार मानिसमा परीक्षण गरिएको हो । उनीहरुमध्ये आधालाई चार साताको अन्तरमा यो भ्याक्सिनको दुई डोज दिइएको थियो । अरु आधालाई चाहिँ डमी इन्जेक्सन दिइएको थियो ।



अनि अहिले यो भ्याक्सिन ठिक छ भन्नुको कारण चाहिँ त्यहाँ ९५ जनामाथि गरिएको अध्ययन हो । भ्याक्सिन दिइएकामध्ये पाँच जनालाई मात्र कोरोनाभाइरस संक्रमण पुष्टि भयो । अन्य ९० जना जसलाई कोरोना भएको छ, उनीहरुलाई डमी इन्जेक्सन दिइएको बताइएको छ । यो अध्ययनमा यो भ्याक्सिन दिइएका कसैमा पनि गम्भीर कोरोनाभाइरसको लक्षण देखिएको थिएन ।

‘यसको प्रभावकारिता राम्रो देखिएको छ, यो एउटा विशेष दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अफिसर ताल जाक्सले भनेका छन् । कम्पनीका अध्यक्ष डा. स्टेफन होगले पनि यो समयको प्रतीक्षामा आफू लामो समय देखि रहेको बताएका छन् । उनले आफूले ९४ प्रतिशत भ्याक्सिन होला भन्ने यसअघि नसोचेको भन्दै अहिले आएको समाचार निकै ठूलो खुसीको समाचार भएको बताएका छन् ।



अहिले यो भ्याक्सिन प्रभावकारी भनिए पनि बजारमा यो भ्याक्सिक कहिले देखि पाइन्छ भन्ने कुनै निश्चितता छैन । मोडेर्नाका अनुसार अबका केही सातामा नै यो भ्याक्सिनको २० लाख डोज अमेरिकी बजारमा उपलब्ध हुनेछ ।

अनि उसले अब यो भ्याक्सिन विश्वका अन्य देशमा पनि लैजानका लागि योजना बनिरहेको र अरु देशबाट पनि अनुमति लिन खोजेको बताएको छ । बेलायतमा यो भ्याक्सिन अर्को वर्षको मध्यतिर मात्र पुग्न सक्ने बताइएको छ ।

तर, यो भ्याक्सिन लगाएपछि कति समयसम्म कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने अहिले नै निश्चित भइसकेको छैन । तर, मोडेर्नाले अहिले यो भ्याक्सिनले सबै उमेर समूहमा काम गरेको बताइएको छ ।

यो भ्याक्सिनको साइड इफेक्टबारे पनि अझै पूर्ण जानकारी आइसकेको छैन । तर, यो भ्याक्सिन लिएका केही व्यक्तिहरुले यसअघि नै शरीर गलेको, टाउको दुखेको र शरीरमा थकान महसुस भएको गुनासो गरेका थिए ।

यसअघि फाइजर कम्पनीले ल्याएको भ्याक्सिन भन्दा मोडेर्नाको भ्याक्सिन बढी प्रभावकारी किन देखिन्छ भने यसलाई माइनस २० डिग्री सेल्यिसमा राख्न सकिने बताइएको छ । फाइजरको भ्याक्सिनका लागि चाहिँ माइनस ७५ डिग्री सेल्सियसको आवश्यकता परेको थियो । 

  • प्रकाशित मिति : मंसिर १, २०७७ साेमबार २१:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया