पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादले थप उत्कर्ष लिने देखिन्छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेद थप बढ्दै जाँदा यसपटकको विवाद थप उत्कर्षमा पुग्ने देखिएको हो ।
गत शुक्रबार बालुवाटारमा भएको सचिवालय बैठकमा एकतर्फी रुपमा प्रचण्डले राजनीतिक प्रस्ताव राखेका थिए । प्रस्तावमा प्रधानमन्त्री ओलीको राजीनामा माग नगरिए पनि उनले त्याग गर्नु पर्ने कुरा उठाइएको छ ।
प्रचण्डको यो राजनीतिक प्रस्तावले पार्टीमा विवाद ल्याएको भन्दै ओली पक्षधर नेताहरुले प्रचण्डले तत्काल प्रस्ताव फिर्ता लिनु पर्ने माग गरिरहेका छन् । तर, प्रचण्ड आफूले राखेको प्रस्तावबाट पछाडि नहट्ने भएका छन् । स्रोतका अनुसार यही आगामि सचिवालय बैठकमा यही प्रस्तावको आधारमा छलफल गर्ने मुडमा प्रचण्ड रहेका छन् ।
त्यसो त ओलीले यो प्रस्तावलाई अहिले तत्काल छलफलमा नल्याउन बुधबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि सार्ने दाउमा रहेका छन् । बैठक सार्ने प्रस्ताव लिएर मंगलबार विहान नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
पौडेलले केही दिनका लागि बैठक सार्ने प्रस्ताव लिएर आएको तर अध्यक्ष प्रचण्डले उक्त प्रस्तावलाई सोझै अस्वीकार गरेको प्रचण्डनिकट स्रोत बताउँछ । ‘उहाँहरु अहिले बैठक नराख्ने पक्षमा हुनुहुन्छ,’ प्रचण्डनिकट स्रोतले फरकधारलाई भन्यो, ‘तर, अध्यक्ष कमरेडले पार्टीमा विधि स्थापनाका लागि र एकताको स्पिरिट कायम राख्न पनि बैठकमा सबै कुरा छलफल हुनु पर्ने धारणा राख्नु भयो ।’
प्रचण्डलाई बैठक बोलाएकै समयमा राख्नु पर्ने अडानमा कायम रहन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमले साथ दिएका छन् । उनीहरु सबैले शुक्रबार प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव प्रचण्डको मात्र नभएर आफूहरुको पनि भएको बताउन थालेका छन् । तर, ओली बैठकलाई केही पर सारेर नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन चाहन्छन् ।
यसका लागि उनले आइतबार पनि वामदेव गौतमसँग डेढ घन्टा बढी छलफल गरेका थिए ।
बालुवाटारमा भएको यो छलफलमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग अहिले तत्काल बैठक नबस्ने वातावरण बनाउन र पार्टी एकता कायम राख्न भूमिका खेल्नु पर्ने जोड दिएका थिए । स्रोतका अनुसार यो बैठकमा गौतमले ओलीलाई पहिले आफू सच्चिन अनुरोध गरेका थिए ।
केहीअघि कर्णाली प्रदेशमा देखिएको विवाद, विभिन्न देशका राजदूत नियुक्ति र मन्त्रिमण्डल हेरफेरमा ओलीले गरेको मनोमानीका कारण प्रधानमन्त्री नसच्चिए नेकपामा जे पनि हुनसक्ने चेतावनी प्रचण्ड समूहले दिँदै आएको छ ।
‘अहिलेका सबै विवाद समाधान गर्न पार्टीलाई एक बनाएर अगाडि बढाउनका लागि सबैभन्दा पहिले पार्टीले विधिगत हिसाबमा नै निर्णय गर्नु पर्ने हुन्छ, त्यसका लागि प्रधानमन्त्री ओलीले बैठक बस्दिनँ भन्न सुहाउँदैन,’ प्रचण्डनिकट एक नेता भन्छन्, ‘पार्टीको बैठक नबस्ने, सरकारका निर्णयमा पार्टीमा कसैसँग छलफल नगर्ने हो भने ओली पार्टीमा रहिरहनुको के अर्थ हुन्छ ?’
सचिवालयमा ५ नेता आफूविरुद्ध एक ठाउँमा उभिए पछि ओली पछिल्लो समय आफूनिकट नेताहरुसँगको परामर्शमा निकै जुटेका छन् । उनले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेटेकै दिन वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् । त्यस लगत्तै पार्टीकै विषयमा छलफल गर्न उनी राष्ट्रपति निवास शीतल निवाससम्म पुगेका थिए ।
स्रोतका अनुसार शीतल निवासमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई अब विवाद समाधानका लागि उनको भूमिका आवश्यक रहेको बताएका थिए । त्यसो त केहीअघि मात्र नेकपामा विवाद उत्कर्षमा पुगेपछि राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटघाट गरेकी थिइन् । स्रोतका अनुसार यी दुवै भेटमा राष्ट्रपति भण्डारीले नेताहरुलाई विवाद मिलाउन भूमिका खेल्न अनुरोध गरेकी थिइन् ।
‘अहिले विवाद हुनुहुँदैन भन्ने प्राथमिक कुरा त हुँदै हो,’ प्रचण्डनिकट ती नेताले फरकधारलाई बताए, ‘तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीको मनोमानी पनि अहिले हुनुहुँदैन भन्ने हो । त्यसैले अहिले प्रचण्ड कमरेड र पार्टीका अन्य शीर्ष नेताहरु आफ्ना सर्त र शुक्रबार बैठकमा राखिएका सर्तबाट तत्काल पछाडि हट्ने मनसायमा हुनुहुन्न ।’
उनले बुधबार बस्ने भनिएको सचिवालय बैठक समयमा नै सुरु हुने र पछिल्लो समय देखिएको विवादबारे त्यहाँ नै छलफल हुने दाबी पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।