बालुवाटारमा ओली पक्षका नेताहरुको छलफल, भोलि सचिवालय बैठकमा ओली पक्ष उपस्थित नहुने सम्भावना
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद समाधान गर्ने र आफ्ना सर्तहरुलाई प्राथमिकता लिने उद्देश्यका साथ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष र उनी निकट नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । 

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, नेकपा नेताहरु सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् । 

बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्ने उनीहरुको दाउ छ । प्रधानमन्त्री ओलीले पनि सचिवालयमा आफू अल्पमतमा परेका कारण बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न खोजिरहेका छन् । 

उनको यही प्रस्ताव लिएर नेकपा महासचिव विष्णु पौडेल मंगलबार विहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका थिए । तर, खुमलटारको यो बैठकमा प्रचण्डले पौडेलको प्रस्ताव अस्वीकार गरेका थिए । स्रोतका अनुसार नेकपा अध्यक्ष प्रचण्डले पहिले बैठक बसेर नै पार्टीको विवादको विषयमा निर्णय लिनु पर्ने पौडेललाई बताए ।

गत शुुक्रबार सचिवालय बैठकमा प्रचण्डले बुझाएको राजनीतिक प्रस्ताव एकल भएको र यसलाई फिर्ता लिए मात्र आफू बैठक राख्न तयार भएको ओलीले सन्देश पठाएका थिए ।

यही विषयमा छलफल गर्न ओली पक्षका नेताहरु अहिले बालुवाटारमा जुटेका हुन् । प्रचण्डले बैठक सार्न नमानेपछि अब के गर्ने भन्ने विषयमा उनीहरु छलफलमा जुटेका हुन् । 



अर्कोतिर, प्रचण्डले सचिवालय बैठक बोलाएमा ओली पक्षधर नेताहरु बैठकमा सहभागी नहुने सम्भावना पनि बढेको बताइएको छ ।



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १५:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया