मंगलबार शीतल निवास पुगेका थिए प्रधानमन्त्री ओली पनि, भेटेका थिए चिनियाँ राजदूत यान्छी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छिन् । मंगलबार मात्रै उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झन्डै दुई घन्टा संवाद गरिन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएलगत्तै शीतल निवासमा पछिल्लो विवादमा आफूलाई सहज होस् भन्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगेका थिए । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लामो समय राष्ट्रपति निवासमा बिताएका थिए । त्यहाँ उनले नेकपा विवादमा आफूलाई सहयोग गर्न राष्ट्रपति भण्डारीलाई फेरि पनि अनुरोध गरे । 

त्यसो त यसअघि नै प्रधानमन्त्री ओलीलाई सहज बनाउन राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थाहा बादललाई भेटिसकेकी छिन् । यी दुवै छुट्टाछुट्टै भएका भेटमा राष्ट्रपति भण्डारीले गौतम र बादललाई नेकपा विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गरेकी थिइन् । 

मंगलबार नेकपा अध्यक्ष प्रचण्डसँग भएको २ घन्टा लामो संवादमा पनि उनले प्रचण्डलाई अध्यक्ष ओलीसँग मिलेर जान अनुरोध गरेकी थिइन् । अध्यक्ष ओलीसँग मिलेर पार्टी एक भएर अगाडि बढेमा मात्र लोकतन्त्रको रक्षा हुने, जनआन्दोलन र कम्युनिस्ट आन्दोलनको न्याय हुने राष्ट्रपति भण्डारीले बताएको स्रोतको दाबी छ । 

त्यहाँबाट प्रचण्ड निस्किए पछि उनले आफू निकट नेताहरुलाई चाहिँ राष्ट्रपतिसँग आफू नबोलेको तर उनका कुरा सुनेको बताएका थिए । 



अध्यक्ष प्रचण्ड त्यहाँबाट निस्किएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका थिए । स्रोतका अनुसार त्यहीबीचमा चिनियाँ राजदूत होउ यान्छीसँग पनि प्रधानमन्त्री ओलीकाे भेट भएकाे थियाे ।

यसअघि जस्तै चिनियाँ राजदूत होउ यान्छीले नेकपा विवाद उत्कर्षमा पुग्दा फेरि आफ्नो सक्रियता बढाएकी छिन् । 



राष्ट्रपति निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी अनि चिनियाँ राजदूतसँग प्रधानमन्त्री ओलीको बालुवाटारमा छुट्टाछुट्टै भेट भएको दाबी स्रोतको छ । राष्ट्रपतिसँग छलफल गरेका ओलीले चिनियाँ राजदूत यान्छीसँग बालुवाटार फर्किएर छलफल गरेका थिए । 

ओलीसँगकाे भेटअघि चिनियाँ राजदूत यान्छीले पनि राष्ट्रपति भण्डारीलाई भेटेकी थिइन् । 

गत शुक्रबार भएको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन राखेपछि ओली र प्रचण्डबीच थप मतभेद सुरु भएको छ । यी दुई नेकपा अध्यक्षले एक अर्कालाई लेखेका पत्रमा र प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा एकअर्कालाई आरोप प्रत्यारोप गरिएको छ ।

प्रचण्डले राखेको राजनीतिक प्रतिवेदनलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन गरेका छन् ।

सचिवालयमा बहुमत सदस्य आफ्नो पक्षमा नभएपछि ओलीले बुधबारका लागि बोलाइएको बैठक टार्ने प्रयास गरिरहेका छन् । बैठक सार्ने सन्देश उनले मंगलबार दिउँसो नै नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसँग खुमलटार पठाएका थिए । तर, पार्टीमा अब जे निर्णय गरिने भए पनि बैठकबाटै गर्ने भन्दै प्रचण्ड समूहले ओलीको बैठक सार्ने प्रस्तावलाई अस्वीकार गरेका छन् ।

 

  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २३:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया