सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अब बालुवाटारमा सुरु हुने भएको छ । तर, यो बैठक सुरु हुनुअघि नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विशेष छलफल हुने भएको छ ।
स्रोतका अनुसार यो छलफलका लागि प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।
केही बेरअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर फर्किएका थिए । मंगलबार साँझ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिसँग भेटघाट गरेका थिए ।
मंगलबार नै चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।
यी घटनाक्रमले गर्दा सचिवालय बैठकअगाडि नै ओली र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो छलफलमा उनीहरुबीच सहमति हुनसक्ने सम्भावना बढेको बताइएको छ ।
गत वैशाखमा पनि यी दुई नेताले सचिवालय बैठकअगाडि भेटेर आफूहरु सहमतीमा पुगेको जानकारी दिएका थिए । त्यति बेला पनि नेकपा विवाद यस्तै उत्कर्षमा पुगेको थियो ।
आजको सचिवालय बैठकमा गत शुक्रबार नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनसक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।