उत्साहजनक छैन सौराहाको पर्यटन व्यवसाय

 

दसैँ बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै देखिएका छन् ।

दसैँ टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटकसमेत रहेको भए पनि बिदा सकिएसँगै पर्यटक पनि घटेका हुन् । तिहारको बिदामा पर्यटक आउने अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । दसैँको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायी  बताउन थालेका छन् ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार दिनमा घुम्न आउने पर्यटक रहे पनि रात बिताउनेको संख्या निकै न्यून छ । दिनमा आउने पर्यटकले हात्ती चढ्ने, जीप सफारी गर्ने र सौराहाका रेष्टुरेन्टमा खाएर रमाउने गरेको भए पनि साँझ फिर्ता हुने गरेको उनको भनाइ छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई होटलमा बस्ने पर्यटकको संख्या न्यून मात्रै रहेको बताउँछन् । केही होटलमा विवाहको कार्यक्रम भएको भए पनि अन्य होटल पाहुनाको पर्खाइमा रहने गरेको उनको भनाइ छ ।

कोरोना संक्रमण क्रमशः घट्दै गएमा व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक आउने गरेको बताउँछन् । दसैंँपछि हालसम्म रेष्टुरेन्टमा ठीकै व्यापार भएको भन्दै उनले अवको अवस्था कस्तो रहन्छ एक दुई दिनमा थाहा हुने बताए ।



चैत ११ गतेदेखि बन्द भएका होटल साउनमा केही दिन खुलेर पुनः बन्द भएका थिए । असोज १ गतेदेखि खोलेका होटलले सोचे जस्तो व्यापार गर्न सकेका छैैनन् । सौराहामा ११० होटल छन् । साना ठूला सय हाराहारी रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।



  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १७:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया