माथि फोटोमा देखिएको यो डिउटी घर र काठे गेट तत्कालीन माओवादी सेनाको पाँचौ डिभिजन अन्तर्गत दीर्घस्मृति बिग्रेड संक्राम ब्यारेकको हो । कुनै समय यो डिउटी घरमा माओवादीका सेना खडा भएर बसिरहेका हुन्थे ।
माओवादी सेनाले ब्यारेक छाडेको वर्षौँ भइसक्यो । राज्यले करोडौं लगानी गरेर तयार गरेको ती संरचनाहरु अहिले लथालिंग भएका छन् । संरचनाहरु भत्किएर र चोरी त्यहाँका मालसामान चोरी भएर नस्ट भइरहेका छन्।
२०६४ सालमा स्थापना भएको यस ब्यारेकमा करिब २५ सय माओवादी सेना रहने गरेका थिए । १० हेक्टर क्षेत्रफलमा फैलिएका ब्वारेकमा जहाँ साना–ठूला गरी करिब ७० वटा संरचना थिए । ती मध्ये अहिले ५ वटा संरचना पनि सग्लो छैनन् । सबै भत्किसकेका छन्।
ठूलो लगानी मेहनतबाट बनाइएका संरचनालाई राज्यले वेवास्ता गरेकै कारण मासिएको तत्कालीन माओवादी सेनाका बटालियन कमाण्डर मोहन नेपाली ‘उज्ज्वल’ गुनासो गर्छन्।
‘सेना हराए, संरचना हराए, सँगै जनयुद्धका निशानी हराए ।’ उज्ज्वल भन्छन्। २०६८ सालमा सेना समायोजनसँगै रित्तिएका ब्यारेक संरक्षणको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको थियो । संरक्षणको जिम्मा लिएको सशस्त्र प्रहरीले २०७५ सालदेखि ब्यारेक छोड्दा अवस्था झन नाजुक बनेको उज्ज्वलको भनाइ छ।
घरका भित्ता जोड्नेदेखि झ्याल ढोका बनाउनेसम्मको काम जनसेना गरे । यी घरमा जनसेना धेरै पसिना बगेका छन्।’ उनी सुनाउँछन्, सेनासँगै संरचना गायब भए जोगाउन राज्यले चासो दिएन ।’
ब्यारेकसँगै विकास गयो
संक्राम ब्यारेक अहिले तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ । ६४ सालमा यस ठाउँमा ब्यारेक बनेपछि गाउँमा निकै परिवर्तन भएको थियो । खानेपानी धारा आएका थिए । सडक फराकिलो बनेको थियो । विद्युत विस्तार भएको थियो।
‘जति विकास हुने हो चारवर्षमा मात्रै भयो । सेना समायोजनमा गए, ब्यारेक खाली भयो । गाउँको विकास पनि ठप्प रोकियो ।’ स्थानीय कौमती खत्री भन्छिन्।
२०६८ सालपछि गाउँको मुहार जस्ताकोतस्तै रहेको उनले जानकारी दिइन् । माओवादी सेनाको ब्यारेकबाट स्थानीयले स्वास्थ्य सेवा समेत लिने गरेको खत्रीले सुनाइन् । ब्यारेक उठेसँगै स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परिरहेको स्थानीयहरुको गुनासो छ । संरक्षण अभावमा रहेको यस ब्यारेकको हेरचाह अहिले गाउँलेले नै गर्दै आएको स्थानीय भिविसन रोकाले जानकारी दिए ।
‘गाउँले मात्रै जोगाएर के जोगिन्थ्यो र ? रोका भन्छन् । यस ब्यारेकलाई एक ऐतिहासिक स्थलका रुपमा कायम राख्ने सके गाउँको पर्यटनमा टेवा पुग्ने आशा स्थानीयको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।