सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो पार्टी विभाजनको संघारसम्म पुगेको चर्चा भइरहेको छ। पार्टीको विवाद मिलाउन विभिन्न पक्षमा छलफल र संवाद भइरहे पनि त्यसले तात्विक अन्तर ल्याउन सकेको छैन। यसको मतलब नेकपाको विवाद ज्यूँकात्यूँ नै छ। विवादकै बीच गत कार्तिक २८ नेकपा सचिवालय बैठक बसी अर्को बैठक मंसिर ३ गतेका लागि तोकिएको थियो।
गत भदौ २६ गते नेकपा स्थायी कमिटीको बैठकले पारित गरेका निर्णयहरु कार्यान्वयन लगायतका विषयमा एजेण्डा तय गर्दै पहिलो दिनको बैठक बसेको थियो। सोही दिन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १७ पेज लामो प्रस्ताव समेत बैठकमा पेश गरेका थिए। उक्त प्रस्ताव नेकपाका पहिलो अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपले भरिपूर्ण थियो।
गत स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) भाग–५, प्रचण्डले बैठकमा पेश गरेको प्रस्ताव, सचिवालय बैठकको माग गर्दै अध्यक्ष प्रचण्डलगायतका ५ नेताहरुले ओलीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र अध्ययनका लागि भन्दै बैठक मंसिर ३ गतेका लागि पर सारिएको थियो। यसबीचमा नेपालीहरुको ठूलो पर्व तिहार पनि सकियो।
कार्तिक २८ गते बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा सचिवालयका सबै सदस्यहरुलाई अध्ययनका लागि प्रचण्डले तयार पारेको प्रस्ताव वितरण गरियो। बैठक सकिएको केही समयलगत्तै उक्त प्रस्ताव सबैजसो सञ्चारमाध्यमका प्रमुख खबर बने।
सोही प्रस्तावमा अध्यक्ष प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपहरुको बुँदा–बुँदामा जवाफ दिने ओली समूहले तयारी गरेको छ। बुधबार बसेको पार्टी सचिवालयको बैठकमा ती सबै कुराहरुको एक÷एक गरी जवाफ दिने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको प्रस्ताव लाञ्छनायुक्त र आरोपले भरिएको भनेका छन्।
प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको एक÷एक जवाफ दिने बताएको बैठकमा सहभागी नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। बैठकमा ओलीले त्यसका लागि केही दिन समय लाग्ने बताएका छन्। प्रचण्डको प्रस्तावको प्रतिवाद नगरी आफू बस्न नसक्ने बताएको ती नेताको भनाइ छ।
‘प्रस्ताव लाञ्छनायुक्त गम्भीर आरोपले भरिएको छ । यसको प्रतिवाद नगरी बस्न सकिँदैन। म ती आरोप र लाञ्छनाहरुको एक÷एक जवाफ दिन्छु। त्यसका लागि केही समय लाग्छ। त्यसपछि बैठक बसौँला।’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने।
यसैबीच नेकपाका सचिवालय सदस्य तथा उपप्रधानन्त्री इश्वर पोखरेलले प्रचण्डलाई बुँदा÷बुँदामा जवाफ दिने बताएका छन्। उनले प्रत्येक बुँदामा प्रचण्डलाई जवाफ फर्काउने चेतावनी समेत दिएका हुन्। बुधबार बसेको पार्टी सचिवालय बैठकमा बोल्दै नेता पोखरेलले त्यस्तो बताएका हुन्। उनले बैठकमा भनेका थिए, ‘तपाईको राजनीतिक प्रस्तावको जवाफ समयक्रममा बुँदा÷बुँदामा पाउनुहुनेछ।’
सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावलाई लिएर नेकपाको आन्तरिक किचलो झन बढेको थियो। उक्त प्रस्ताव बाहिरिएलगत्तै नेकपाका स्थायीसमिति सदस्य तथा ओलीनिकट नेता शंकर पोख्रेलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। पार्टी अध्यक्ष केपी ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत भएको भन्दै पोखरेलले त्यो फिर्ता गर्न प्रचण्डलाई अनुरोध गरेका थिए।
उक्त प्रस्ताव सार्वजनिक भएपछि नेकपाका ओलीपक्षीय नेताहरुले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। बुधबार बालुवाटारमा बसेको बैठक मंसिर १३ गतेका लागि सारिएको छ। प्रधानमन्त्री ओलीले प्रस्ताव लेखनका लागि केही समय माग गरेपछि सचिवालयको बैठक १० दिनपछि सारिएको हो। यसैबीच मंसिर १८ गते स्थायी समिति बैठक बोलाउने र १५ गतेका लागि सारिएको केन्द्रीय समितिको बैठक २५ गतेका लागि सार्ने निर्णय बुधबारको सचिवालय बैठकले गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।