नेपाल प्रहरीमा एआईजी र पाँच डीआईजीको दरबन्दी थपियो

नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।

गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषदमा पठाएको थियो । सरकारले भने एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो ।

एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन ।

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयले बताएको छ । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।

थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ । हाल एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।

उनीहरुमध्ये पोखरेलले यसअघि पनि एआईजीमा बढुवाका लागि दाबेदारी प्रस्तुत गरेका थिए । तर, अन्तिम समयमा सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो ।



उनीहरु एआईजी बनेपछि डीआईजीका तीन दरबन्दी खाली भएका थिए । अब थपिएका पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ । 



  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १८:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया