आज छठको मुख्य दिन,  रातिदेखि नै ब्रतालु घाटमा
फरकधार / ५ मंसिर, २०७७

तराईबासीको महापर्व छठको आज मुख्य दिन। जलाशयबाट ब्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। सूर्यको आरधना, उपासना र पूजा गरी मनाइने छठको जनकपुरसहित मधेसका जिल्लाहरूमा विशेष रौनक छ।

विगतमा छठको मुख्य दिन दिउँसो घाटमा पुग्ने चलन थियो। तर यससाल जनकपुरका पोखरीहरूमा २४ घण्टा अगावै मध्यरातमै ब्रतालुहरू छठ घाटमा पुगिसकेका छन्। ब्रतालुहरूले घाटमै रात बिताएका हुन्। 

कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै प्रशासनले यसवर्ष पानीमा प्रवेश नगरी छठ मनाउन अपिल गरेको छ। जनकपुरस्थित गंगा सागर पोखरी छठ पूजा समितिका कोषाध्यक्ष मोहन शरणले प्रशासनले गाइडलाइन अनुसार अनाश्वर भीडभाड हुन नदिने बताए। एक ब्रतालुसँग एक व्यक्तिलाई मात्र छठ घाटमा पुग्न दिने उनको भनाई छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको पहिलो दिन ब्रतालुहरू चोखो खानपान गरी शुद्ध भएर बस्ने । दोस्रो दिन खरना विधि मनाइन्छ। तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिने प्रचलन छ। भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ।

महाभारत ग्रन्थमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको साँस्कृतिक विद्हरू बताउछन्।

यता, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि ऋषिकी पत्नी अनुसूयाले छठ व्रत गर्दा अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। सोही बेलादेखि छठ मनाउन थालिएको भन्ने कथन छ।

यस्तै साम्ब पुराणका अनुसार आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको श्रापबाट साम्ब कुष्ठरोगबाट पीडित बनेकी थिइन्। उनले  सूर्यको आरधना गरेपछि रोगमुक्त हुन गएको भनाइ छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।

साधु समेत रहेका मोहन शरण भन्छन्, ‘अघिल्ला वर्षमा सन्तान प्राप्ति, सुख, शान्ति र समृद्धिको कामना गरेर मनाउथ्यौं। तर यसवर्ष कोरोना महामारीबाट विश्वले मुक्ति पाओस् भन्ने कामना गरेका छौँ।’

छठमा सूर्य देवतालाई अर्घ दिँदै ब्रतालुहरुले सन्तान प्राप्ति र परिवारको सुःख, शान्ति र समृद्धिको कामना समेत गर्ने गर्छन्। ब्रतालुले तीन दिनसम्म थुक समेत निल्न नहुने भएकाले छठलाई कठोर ब्रत पनि भनिन्छ। 

छठमा ठकुवा, केरा, नाङ्लो, ढाकी, कोनिया, माटोबाट बनाइएको हात्ती, घैटो तथा हिँउद याममा फल्ने बाली उखु, मुला, नारिवल लगायतका फलफूल समेत चढाइन्छ।
विगतमा मधेसमा मात्र छठ पर्व मनाइन्थ्यो। तर पछिल्लो समय पहाडी समुदायमा पनि छठ मनाउने चलन बढ्दै गएको छ।

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार ११:५१:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया