के होला नेकपा विवाद ? नेताहरूको यस्तो सक्रियता
फरकधार / ५ मंसिर, २०७७
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन नेकपाका दुवै पक्षका नेताहरु सक्रिय भएका छन् ।ओली र प्रचण्ड पक्षका नेताहरुले भेटघाट तथा छलफललाई तीब्रता दिएका छन् । यसै सन्दर्भमा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । पौडेलले अध्यक्ष शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा प्रचण्डसँग भेटघाट गरेका हुन् । पौडेल र प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको थियो ।

प्रचण्डसँगको छलफलबाट बाहिरिएपछि पौडेलले पार्टीको परिस्थिति अत्यन्त गम्भीर रहेको बताए । ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ ।’ महासचिव पौडेलले भने । 
प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर रहको प्रतिक्रिया दिएका छन् । उनले परिस्थिति गम्भीर भएपनि समाधान नै हुन नसक्ने अवस्थामा भने नपुगेको प्रचण्डको भनाइ छ । पौडेलसँगको भेछघाटबाट बाहिरिएपछि उनले भने ‘पार्टीको परिस्थिति गम्भीर रहेको सत्य हो तर समाधानहीन भने होइन ।’
ओलीलाई प्रचण्डको सन्देश, ‘एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नू’

प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्न आग्रह गरेका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङसँग प्रचण्डले करिब एक घण्टा  छलफल थिए । 

नेता नेम्वाङसँगको छलफलपछि ओलीलाई प्रचण्डले यस्तो सन्देश पठाएको नेता नेम्बाङले.बताएका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले आफूले केन्द्रीय सचिवालय बैठकमा ल्याएको प्रस्ताव पार्टी विभाजनका लागि नभएको बताएका थिए । नेम्बाङमार्फत प्रधानमन्त्री ओलीलाई सन्देश पठाउँदै प्रचण्डले भने, ‘एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नुहोस् ।’

छलफलका क्रममा प्रचण्डसँग जसरी पनि पार्टी एकता बचाउन आग्रह गरेको नेम्वाङले बताए । ‘संविधान र निर्वाचनमा गरिएका प्रतिबद्धता बचाउन पनि पार्टी एकता जोगाउनुपर्छ ।’ नेम्बाङको भनाइ छ । 

ईश्वर पोखरेलको छुट्टै छलफल

पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका सचिवालय सदस्य तथा उप–प्रधानमन्त्री ईश्वर पोखरेल पनि उपस्थित छन् । उनले पार्टीका विभिन्न नेताहरुसँग छुट्टा–छुट्टै छलफल गरिरहेका छन् । पोखरेलले आफू निकट नेताहरुसँग छलफल गरेका हुन् । 
 

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १५:३९:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया