खुमलटार टु धूमवाराहीः प्रचण्डले के सन्देश दिन खोजिरहेका छन् ओलीलाई ?

गत शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावले अहिले नेकपा विवाद नयाँ मोडमा पुगेको छ । 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सचिवालय बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनको व्यापक आलोचना मात्र गरेका छैनन्, अब त्यसलाई उत्तर दिने होमवर्क लिइसकेका छन् । यो होमवर्कका लागि उनले सचिवालयमा माग गरेका छन्– १० दिन । 

उनलाई सचिवालयले दिएको १० दिनको काउन्टडाउन सुरु भइसकेको छ । अब उनीसँग आठ दिन बाँकी छ । आठौं दिनमा उनले जब सचिवालयमा आफ्नो तर्फको राजनीतिक प्रतिवेदन दिनेछन्, त्यसले नेकपामा फेरि एकपटक नयाँ विमर्श जन्माउने अनुमान नेकपा नेताहरुले नै गर्न थालेका छन् । 

एकातिर अध्यक्ष ओली बालुवाटारमा नेकपा विवाद समाधान गर्न होमवर्क गरिरहेका छन् भने उनको प्रतिवेदन आएपछि नेकपा विवाद अब के हुन्छ भन्ने सन्देश दिन प्रचण्डले सुरुवात गरिसकेका छन् ।

त्यसैको सिलसिला हो, प्रचण्ड शुक्रबार दिनभर धूमवाराहीमा रहनु । 

आउनुहोस्, यस विषयमा अझ खुलेर चर्चा गरौँ । 



हामीलाई थाहा नै छ, प्रचण्ड धूमवाराहीमा गएको लामो समय भएको छैन । पहिलोपटक पार्टी एकता भएपछि प्रचण्ड धूमवाराही पुग्दा यसले ठूलो समाचारको स्थान पाएको थियो । त्यसो त नेकपा अध्यक्ष केपी शर्मा ओली केही समयअघि मात्र पेरिस डाँडा पुग्दा पनि फोटो पत्रकारका क्यामेरा निकै चनाखो भएका थिए । 

तर, ओलीको पेरिस डाँडाको सन्देश र प्रचण्डको धूमवाराहीको सन्देशले पार्टीलाई फरक फरक अर्थ दिने गरेको छ ।



यसअघि नेकपामा विवाद बढ्दै जाँदा प्रचण्डलाई कार्यकारी अध्यक्षको पद दिइएको थियो । उनले नेकपाका बैठकको अध्यक्षता गर्ने पनि त्यो सचिवालय बैठकमा टुङ्गो लगाइएको थियो । त्यसपछि एउटा बैठक धूमवाराहीमा प्रचण्डले अध्यक्षता गरे । 

लामो समयपछि केही दिनअघि मात्र पाँच सचिवालय सदस्यसँग प्रचण्डले धूमवाराहीमा लामो समय बिताएका थिए ।

शुक्रबार अचानक उनले नेकपाका अर्का अध्यक्ष केपी शर्र्मा ओलीनिकट मानिएका दुई नेतालाई धूमवाराहीमा बोलाए । त्यहीँ नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग प्रचण्डले भेट गरे ।

कोरोनाभाइरस महामारीपछि चैतदेखि नै नेकपा विवादको चक्रव्यूहमा रुमल्लिएको छ । उसलाई यो आन्तरिक झगडा मिलाउन अहिले पनि हम्मेहम्मे परिरहेको छ । कतिपयले त नेकपा यही झगडा र विवादका कारण अब फेरि टुक्रिन्छ भन्ने अनुमान गरेका छन् ।

यसबीचमा अनेक विवादको सामना गरिरहँदा प्रचण्डले नेकपामा आफूनिकट नेताहरु होउन् या ओलीनिकट नेताहरुलाई नै किन नहोस्, आफ्नै निवास खुमलटारमा भेटिरहेका थिए । यही साता खुमलटारमा ओलीको सन्देश लिएर नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए । 

अघिल्लो साता नेकपा विवाद उत्कर्षमा पुग्दा नेकपाका नेताहरु शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली, सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङहरु पनि खुमलटारमा नै पुगेर प्रचण्डलाई भेटिरहेका थिए । 

तर, शुक्रबार प्रचण्ड अचानक खुमलटारबाट बाहिर निस्किए, धूमवाराहीमा ओलीनिकट यी नेताहरुलाई भेट्न पुगे ।

उनको प्रस्तावको प्रत्युत्तरका रुपमा अहिले ओली राजनीतिक प्रस्ताव लेखिरहेका छन् र प्रचण्ड धूमवाराही पार्टी कार्यालयमा पुगेर नेताहरुसँगको भेटघाट सुरु गरेका छन् ।

राजनीतिमा स्थान र परिवेश, सन्दर्भ र व्यक्तिले निकै ठूलो असर र प्रभाव पारिरहेको हुन्छ । के प्रचण्ड खुमलटारबाट धूमवाराही पुग्नुमा पनि कुनै पोलिटिकल मिनिङ छ ?

हामीले यही प्रश्न प्रचण्डनिकट नेकपाका एक केन्द्रीय सदस्यलाई राख्यौँ । नाम नलेख्ने सर्तमा उनी कुराकानीका लागि तयार भए । 

कुराकानीको निचोड थियो, ‘प्रचण्डले निवासबाट निस्किएर पार्टी कार्यालयमा नेताहरुलाई भेट्नुले विशेष अर्थ राख्छ ।’ उनले यसलाई तीन बुँदामा विस्तार गरे । 

पहिलो, यसले मनोवैज्ञानिक रुपमा पार्टीमा प्रचण्ड पक्षधरलाई बलियो भएको सन्देश दिन्छ । 

दोस्रो, यसले पार्टीमा प्रचण्डलाई विरोध गरिरहेकाहरुलाई प्रचण्डलाई पार्टीप्रति माया छ भन्ने सन्देश दिन्छ । 

अनि तेस्रो, पार्टी एक छ, अहिले नै फुट्ने कुरा होइन भन्ने सन्देश यसले दिन्छ र सँगसँगै नेकपामा अर्का अध्यक्षलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाउन सहयोग पनि गर्छ ।

अब लागौँ, प्रचण्ड शुक्रबार खास किन धूमवाराही गए भन्नेतिर ? 

हामीले यो प्रश्न, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’लाई राख्यौँ ।

‘पार्टीका मिटिङहरु पार्टी कार्यालयमा नै गरौँ भन्नेमा हामी थियौँ, यसको खास अरु कारण छैन, पार्टीको कामका लागि पार्टी कार्यालय मात्र गएका हौँ,’ उनले भने ।

शुक्रबार दिउँसो साढे १२ नेकपा अध्यक्ष पार्टी कार्यालय धूमवाराही पुगेका थिए । आज त्यहाँ उनले नेकपा महासचिव विष्णु पौडेल र सुवास नेम्वाङलाई भेटे । 

स्रोतका अनुसार यो भेटमा विष्णु पौडेलले पार्टीको विवाद मिलाउन प्रचण्डलाई अनुरोध गरेका थिए । भेटलगत्तै पौडेलले पत्रकारहरुसँग कुराकानीमा भनेका थिए, ‘परिस्थिति निकै गम्भीर भइसकेको छ ।’

अनि भेटमा नेम्वाङले प्रचण्डलाई भनेका छन्– पार्टी विवाद मिलाएर अगाडि बढ्ने जिम्मेवारी दुई अध्यक्षको हो, त्यसमा गम्भीर भइदिनोस् ।

खुमलटारबाट आखिर आज ओली पक्षधर नेतालाई भेट्न किन धूमवाराही पुगे होलान् त प्रचण्ड ? 

नेकपाका एक केन्द्रीय सदस्यले यसको सपाट जवाफ दिए, ‘किनकि उनी आफूले गुटबन्दी गरिरहेको छैन भन्ने सन्देश दिन चाहन्छन् ।’

हुन पनि पछिल्लो समय प्रचण्डले आफूनिकट नेताहरुलाई लामो समयदेखि खुमलटारमा नै भेटिरहेका छन् । अनि यही विषयलाई सचिवालय बैठक तथा भेटहरुमा अध्यक्ष ओलीले इस्यू बनाइरहेका छन् । आफूले गुटबन्दी गरेको छैन र पार्टीका कामहरु पार्टी कार्यालयमै भइरहेका छन् भन्ने उनले जे सन्देश दिन चाहेका थिए, त्यसलाई अर्थपूर्ण बनाउन उनी शुक्रबार धूमवाराही पुगेका हुन् ।

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १७:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया