३ कारण जसले संकेत गर्छन् ओली छन् ओरालोतिर
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अहिले विवाद उत्कर्षमा पुगेको छ । बुधबार बसेको सचिवालय बैठकपछि १० दिनका लागि नेकपामा भएको विवादको मध्यान्तरमा अल्झिएको आभास भएको छ । 

तर, अब बस्ने भनिएको सचिवालय बैठकमा पनि अहिलेको नेकपा विवाद समाधानतिर होइन, थप समस्यातिर अग्रसर हुने अनुमान नेकपाका नेताहरुले नै गर्न थालेका छन् ।

त्यसैले अहिले नेकपामा सबैभन्दा बढी चर्चा हुन थालेको छ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अब बस्ने सचिवालय बैठकमा ल्याउने राजनीतिक प्रतिवेदनको । यसलाई विशेष महत्वका साथ किन हेरिएको छ भने ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजको जवाफ अब बस्ने सचिवालय बैठकमा दिनेछन् । त्यसैले, कतिपयले नेकपाको भविष्य के हुने भन्ने अनुमान त्यसपछि मात्र गर्न सकिने बताउन थालेका छन् । 

शुक्रबार साँझ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई प्रचण्डको प्रतिवेदनको जवाफका रुपमा ओलीको प्रतिवेदन आउनुले नेकपाको संकट थप बढ्दै जान सक्ने अनुमान गर्न सकिने बताए । ‘पार्टीका लागि होइन, अहिले दुई अध्यक्ष एकअर्कासँग आरोप प्रत्यारोपमा व्यस्त छन्,’ उनको तर्क छ, ‘त्यसैले अब अध्यक्ष ओलीले ल्याउने प्रतिवेदनमा पनि अध्यक्ष प्रचण्डलाई भरसक धेरै आरोप लगाउने अनुमान गर्न सकिन्छ । यसले अहिलेको किचलो घट्ने होइन, थप बढ्ने अनुमान त्यसैले गरिएको हो ।’

तर, यहीबीच नेकपामा प्रचण्ड पक्षधर नेताहरु ओलीको अब ओरालो यात्रा सुरु भएको तर्क गर्न थालेका छन् । प्रचण्डलाई अहिले नेकपामा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । ‘नेकपाका यी पाँच भाइ अहिले चट्टानी अडानमा छन्,’ नेकपाका ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले यसले ओली पक्षलाई कमजोर बनाउँदै गएको छ । यी पाँच भाइले जे गर्न चाहेका छन्, त्यो नतिजा यसपटक देखिन्छ ।’

एकातिर यी पाँच नेता एक स्वरमा ओलीविरुद्ध खनिएका छन् भने अर्कोतिर नेकपामा ओली पक्षधर नेताहरुले आफ्नो दौडधूप बढाएका छन् ।



यी दौडधूपले अहिले प्रचण्ड पक्षलाई गलाउन सकेको छैन । त्यसो त यस्ता दौडधूप यसअघि पनि भएका थिए । यसपटक प्रचण्ड समूह जुन अडानमा देखिएको छ, त्यसको प्रमाण हो, बुधबार बसेको नेकपा सचिवालय बैठक पनि ।

अनि त्यही सचिवालय बैठकले यसपटक नेकपामा ओलीलाई थप कमजोर बनाएको संकेत पनि गरेको छ ।



आउनुहोस्, चर्चा गरौँ । त्यो सचिवालय बैठकले दिएका तीन सन्देश जसले नेकपामा ओलीलाई ओरालोतिर लागेको संकेत गर्छन् ।

नेपालको राजनीति र नेकपाको राजनीतिमा चासो राख्ने सबैलाई थाहा नै छ, ओलीले बुधबारको सचिवालय बैठक चाहेका नै थिएनन् । उनले त यो बैठकलाई जतिसक्दो पछाडि सार्न चाहन्थे । त्यही सन्देश उनले आफूनिकट नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलमार्फत् नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग बुधबार नै पठाएका थिए । 

तर, मंगलबार पौडेलसँगको भेटमा नेकपा अध्यक्ष प्रचण्डले ओलीको यो प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । अनि प्रचण्डको अडानलाई नेकपा सचिवालयका नेताहरु माधवकुमार नेपाल र वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि साथ दिए । उनीहरुले ओलीले बालुवाटारमा बैठक नबसे आफूहरु पार्टी कार्यालय धूमवाराहीमा बैठक बस्ने निर्णयमा पुगेको जानकारी सन्चारमाध्यमलाई दिन थाले । 

प्रधानमन्त्री ओलीले पौडेलबाट प्रचण्डको जवाफ पाएपछि राष्ट्रपति कार्ड खेल्न खोजे । त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका दुवै अध्यक्षलाई भेटिन् । प्रधानमन्त्री ओलीले त चिनियाँ राजदूत होउ याङ्छीलाई पनि भेटे । 

अनि पहिले तय भएको सचिवालय बैठकमा नै मन्त्रिपरिषद् बैठक बोलाएका ओलीले एक घन्टा पछाडि त्यो बैठकलाई धकेले । 

‘ओलीको ओरालो यात्रा सुरु भएको संकेत गर्ने कारण उनी बस्दिनँ भनेर अडान लिएको सचिवालय बैठकमा पुग्नु हो,’ नेकपाका ती केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘ओलीले आफूलाई शक्तिमान नै बनाइरहेका हुन्थे भने उनले त्यो बैठकलाई जसै गरि पनि सार्थे । तर, उनले सकेनन् ।’

पार्टीमा ओली थप संकटमा परेको प्रष्ट पार्ने अर्को कारण हो, उनले अहिले लेखिरहेको प्रचण्डको प्रतिवेदनको जवाफ ।

स्पष्ट छ, यसअघि नेकपा अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव आएलगत्तै त्यसलाई एकल रुपमा ल्याइएको प्रस्ताव भने । त्यो प्रस्ताव एकल रुपमा आएकाले यसले पार्टीलाई संकटमा पारेको अभिव्यक्ति पनि उनीनिकट नेताहरुले दिएका थिए । 

अनि ओलीको भाषामा उनीनिकट नेताहरुले भन्न थालेका थिए– प्रचण्डको प्रतिवेदनको जवाफ दिनु पर्दैन । यसमा ओली पनि सहमत थिए । 

तर, बुधबार बसेको सचिवालय बैठकमा ओलीले आफूमाथि लगाइएको आरोपमाथि मात्रै चर्चा गरेनन्, उनले त्यसको जवाफ आफूले लेख्ने पनि बताए । अहिले उनी त्यही जवाफ लेख्ने होमवर्क गरिरहेका छन् । १० दिनको समय मागेर जवाफ लेख्न बसेका ओलीनिकट नेताहरु नै अब यो स्टेपले ओलीलाई थप समस्यामा पारेको बताउँछन् ।

‘आफैंले पहिले प्रचण्डको प्रतिवेदन मैले जवाफ दिनु पर्ने खालको नै होइन भन्नु र त्यो प्रतिवेदनलाई एकल भने पनि सचिवालय बैठकले त्यसलाई इन्डोर्स गर्नु,’ ओलीनिकट एक नेता भन्छन्, ‘यसले ओलीलाई निकै ठूलो चुनौति र आफ्ना अडानमा कायम रहन नसकेको यो घटनाबारे प्रष्ट्याएको छ । तर, यसको अर्थ उनी कमजोर भएका हुन् भन्ने होइन ।’

हो, ओलीले जुन प्रतिवेदनलाई एकल भनेका थिए, जुन प्रतिवेदनको कुनै जवाफ नै दिनु पर्दैन भनेका थिए, त्यहीमाथि अहिले उनी काम गरिरहेका छन् । यसले पनि नेकपामा ओलीको ओरालो यात्रा सुरु भएको टिप्पणी गर्न नेकपाकै नेताहरुलाई सहज बनाएको छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार २१:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया