एउटा परेवाको मूल्य कति हुन सक्छ ? तपाई अनुमान लगाउनुस् त ! नेपाली बजार अनुसार भन्ने हो भने २ सयदेखि अधिकतम २ हजार रुपैयाँसम्म भन्न सकिएला । तर, बेल्जियमको एउटा परेवालाई १९ लाख डलरमा खरिद गरिएको छ । यो रकमलाई नेपाली रुपैयाँमा भन्ने हो भने २१ करोड ९ लाखभन्दा बढी पर्न आउँछ ।
२३७ डलरमा लिलामीमा राखिएको बेल्जियमको यो रेसर परेवालाई चीनका एक व्यक्तिले उक्त मूल्य तिरेका हुन् ।
पछिल्लो समय चीनमा परेवाको उडान प्रतियोगिता ज्यादै लोकप्रिय बन्दै गएको छ । बेल्जियमका यो प्रजातिका परेवा उडान भर्न ज्यादै सफल मानिन्छन् ।
२ वर्षको यो पोथी परेवाको नाम न्यू किम राखिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार त्यस परेवाका मालिक यो खबरले आश्चर्यचकित भएका छन् ।
यसअघिको रेकर्ड अनुसार चार वर्षको भाले परेवा १४ लाख डलरमा बिक्री भएको थियो ।
यो जातिका परेवाले १० वर्षसम्म बच्चा जन्माउने क्षमता राख्ने बताइएको छ । खरिदकर्ताले यही प्रजातिका परेवाको उत्पादन बढाउनकै लागि न्यू किमको यो मूल्य लगाएको अनुमान गरिएको छ ।
रोयटर्सका अनुसार बेल्जियममा २० हजार परेवापालक रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।