नेकपा विवादः अबका सम्भावित ५ स्टेप्स

विवादको शिखरमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब थप समस्याग्रस्त हुने सम्भावना बढ्दै गएको छ । शनिबार चितवनमा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको विवाद र नाराबाजी यसको ‘ट्रेलर’का रुपमा लिन सकिन्छ ।

एकातिर अब गाउँगाउँमा यसरी नेकपा कार्यकर्ताहरु एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा व्यस्त हुन थालेका छन् भने अर्कोतिर शीर्ष नेताहरुबीचको तिक्तता थप बढ्दै गएको छ ।

तर, यसको सुरुवात आज भएको होइन । पछिल्ला घटनाक्रमलाई केलाउने हो भने अहिले नेकपाको अवस्था जुन अवस्थामा छ, त्यसलाई थप समस्याका रुपमा हेर्न थालिएको छ । कर्णाली प्रदेशमा भएको विवाद होस् या पर्सामा भएको घटना, पार्टी विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदम होस् या चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता नै किन नहोस्, दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चलेको दोहोरी होस् या अन्य शीर्ष नेताले एकअर्कालाई गर्ने गालीगलौजका भाषा किन नहोस्, सबैले नेकपामा थप समस्या बढ्दै गएको अनुभूत गर्न थालेका छन् ।

र, योसँगसँगै अब प्रश्न पनि उठेको छ, आगामि दिनमा नेकपामा के हुन्छ त ?

आउनुहोस्, यसअघिका केही घटनाक्रम र यसले ल्याउन सक्ने नतिजाहरुबारे चर्चा गरौँ ।

सबैभन्दा पहिले लिऔँ, नेकपाका दुई अध्यक्षबीच भएको आरोपप्रत्यारोपको प्रसंग । नेकपाका यी दुई अध्यक्षले एकअर्कालाई चिठी लेख्दै विभिन्न आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामलाई प्रभावकारी रुपमा अगाडि नबढाएको आरोप लगाएका छन्, प्रचण्डले । यतिमात्र होइन, उनले ल्याएको राजनीतिक प्रतिवेदनमा त भ्रष्टाचारलाई ओलीले प्रश्रय दिएको पनि उल्लेख गरिएको छ । अर्कोतिर, प्रचण्डले कार्यकारी अध्यक्ष भएर पनि पार्टी हितमा काम नगरेको तर गुटबन्दी गरिरहेको आरोप ओलीको छ ।



अनि केहीअघि सम्म आफूले प्रचण्डको प्रतिवेदनको कुनै जवाफ दिन आवश्यक नठानेका ओलीले अहिले १० दिनको समय मागेका छन् । उनले अब प्रचण्डको प्रतिवेदनलाई जवाफ दिने तरिकाले आफ्नो प्रतिवेदन लेख्ने होमवर्क सुरु गरेका छन् । अब उनको प्रतिवेदन केही दिनमा आउने नै छ । यसअघि प्रचण्डले राखेको प्रतिवेदनमा उनीमाथि आरोप लगाइएकाले अहिले नै अनुमान गर्न सकिन्छ, ओलीको प्रतिवेदनमा त्यसको डिफेन्स गरिन्छ र केही आरोप प्रचण्डमाथि पनि लगाइनेछ ।

योसँगै अब नेकपामा के होला ? देशमा के होला ? यी प्रश्नहरु उठ्नु स्वभाविक हो । आउनुहोस्, अबका स्टेप्स र रिजल्टबारे चर्चा गरौँ ।



 

सचिवालयमा छलफल हुन्छ, एउटा मात्र प्रतिवेदन बन्छ

दुई नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएका प्रतिवेदनमाथि सचिवालयमा नै छलफल गरेर एउटा मात्र राजनीतिक प्रतिवेदन बनाउने जिम्मेवारी दुई अध्यक्षलाई दिने सम्भावना उत्तिकै छ । यस्तो भएको खण्डमा अहिले देखिएको नेकपा विवाद समाधान हुनसक्ने सम्भावना बढी हुन्छ । त्यसका लागि दुवै अध्यक्षले आत्मालोचना गर्ने र आफूहरुलाई सच्याएर अगाडि बढ्ने सम्भावना पनि हुन्छ ।

अनि दुई अध्यक्षले फेरि एक कार्यदल बनाएर एउटै राजनीतिक प्रतिवेदन बनाउन सक्ने सम्भावना बढी छ ।

 

सचिवालयमा समस्या समाधान हुँदैन, केन्द्रीय कमिटीमा दुवै प्रतिवेदन पुग्छ

सचिवालयमा समस्या समाधान नहुने सम्भावना पनि अहिले उत्तिकै छ । नेकपामा दुई अध्यक्ष अहिले जसरी अगाडि बढेका छन्, त्यसले सचिवालयमा सहज यसको समाधान निस्किएला भन्ने सोच्न सकिँदैन ।

यस्तो भएको खण्डमा दुवै अध्यक्षका प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकसम्म पुग्न सक्ने सम्भावना हुन्छ । केन्द्रीय कमिटी बैठकमा दुवै प्रतिवेदन पुगेको खण्डमा एउटा प्रतिवेनलाई मात्र पारित गरिनेछ ।

 

ओलीले एक पदबाट राजीनामा दिन सक्छन्

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन लेख्न १० दिनको समय चाहिन्छ भनेको भए पनि उनले शुक्रबार आफूनिकट नेताहरुलाई प्रचण्डसँग छलफलका लागि पठाएका थिए । नेकपा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य र्इृश्वर पोखरेल र सुवास नेम्वाङ तीनै जनाले प्रचण्डसँग शुक्रबार पनि प्रतिवेदन फिर्ता लिन अनुरोध गरेका थिए ।

तर, उनले मानेनन् ।

अब उनको प्रतिवेदनको आधारमा आफूले तयार पारेको जवाफलाई स्थायी कमिटी वा केन्द्रीय कमिटीले अस्वीकार गरेको खण्डमा ओलीले दुवै पदबाट वा कम्तिमा पनि एक पदबाट राजीनामा दिन सक्छन् ।

 

प्रचण्डले अध्यक्ष पदबाट राजीनामा दिन सक्छन्

सचिवालय बैठकमा यो विषयमा कुरा मिलेन र केन्द्रीय कमिटीमा पुग्दा प्रचण्डको प्रतिवेदन अल्पमतमा परेको खण्डमा उनले अध्यक्ष पदबाट राजीनामा दिन सक्छन् । 

 

पार्टी फुट्न सक्छ, सरकार फेरिन सक्छ

पछिल्लो समय नेकपामा जुन विवाद देखिएको छ, त्यसले गर्दा नेकपा विभाजनको संघारमा पुगेको अहिले नै अनुमान हुन थालेको छ । केही नेताहरुले त पार्टी अहिले फुटमा गइसकेको तर्क पनि गर्न थालेका छन् ।

एउटै पार्टीमा सचिवालयमा दुई प्रतिवेदन आउनुलाई वैधानिकताको हिसाबमा पार्टी फुटतिर लम्किएको अनुमान पनि धेरैले गर्न थालेका छन् ।

यसअघि ओली र प्रचण्ड दुवैले पार्टी फुट्न सक्ने बताउँदै आएका छन् । यस्तो भएको खण्डमा अहिलेको सरकार पनि परिवर्तन हुनसक्छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २०:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया