साताको पहिलो दिन सेयर बजारमा तिब्र उतारचढाव देखिएको छ । छोटो समयका लागि १८ सयभन्दा माथि पुगेको सेयर बजारमा लगानीकर्ता नाफा सुनिश्चित गर्नतिर लागेका थिए । आइतबार बजारमा ५० अंकसम्मको उतारचढाव देखिएको छ ।
उतारचढाव देखिएको बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । बजारमा आइतबार ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
बजार सूचक ४.६९ अंकले उक्लिएर १७८२.८१ अंकमा पुगेको छ । सुरुमा साढे ३३ अंकको हाराहारीले बढेको सेयर बजार १६ अंकसम्म घटेको थियो । बजारले उच्चविन्दुका रुपमा १८११ अंकलाई छोएको थियो ।
यसअघिका दिनमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ता बैँकतिर लाग्दा बैकिङ समूहले बजार उतारचढाव गराएको विश्लेषकको भनाइ छ ।
आइतबार लगानीकर्ताको आकर्षण तुलनात्मक रुपमा सस्तो रहेको वाणिज्य बैंक र विकास बैंकका सेयरतिर देखिएको छ । विकास बैंक समूह १३.४६ अंकले बढेर बन्द भएको भने वाणिज्य बैंक समूह २९.४४ अंकले बढेको छ । बाणिज्य बैंक र विकास बैंकले गर्दा नै आइतबार सेयर बजार हरियो भएर बन्द भएको हो । बजार बन्द हुनु केही मिनेट अगाडि मात्र अन्य समूह पनि झिनो अंकले उकालो लागेको छ ।
खासगरी बीमा, लघु वित्त र जलविद्युत् समूहको सेयर मूल्य उच्च अंकले घटेको छ । केही दिनदेखि निरन्तर बढिरहेको साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य ४४१ रुपैयाँले घटेको छ । धेरै गुमाउने कम्पनीमा भने माउन्टेन हाइड्रो र राष्ट्रिय बीमा कम्पनी लिमिटेड (संस्थापक) रहेको छ ।
सिटिजन्स म्युचुअल फण्ड–२ का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको इकाइ मूल्य १० प्रतिशतले बढेको छ । यसपछि बढ्नेमा जानकी फाइनान्स रहेको छ । कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ ।
आइतबारको बजारमा सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल रिइन्स्योरेन्स अगाडि छ । यसपछि नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमलगायत कम्पनी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।