‘बा मरे, आमाले छाडिन्, गाउँलेले हुर्काए’

‘बा मरे, आमाले अर्को बिहे गरेर गइन् । गाउँलेले हुर्काए । मेरा न बाआमा छन्, न घर छ । कहिले कता कहिले कता गर्दै गाँस र बाँस टारेको छु । पढ्नेलेख्ने कुरा त परै भैगो ।’ घोराही उपमहानगरपालिका १३ दुर्गाभवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आइरहेका करण बादीले आफ्ना पीडा यसरी खोले । बस्तीमै माग्दै खाँदै आइरहेका करणका लागि स्कुल सपना जस्तै हो । उनले थपे, ‘बाआमा भए स्कुल जान्थें, मागेर किन खान्थेँ ?’

यो बस्तीका ४० घरपरिवारमध्ये २५ घर बादीका र १५ घर विकका छन् । यीबाहेक बस्तीमा केही बेसाहारा पनि बस्छन् । उनीहरू कोही मागेर खान्छन् । कोही श्रम गर्छन् । 

‘बा बिरामी परे, आमा पनि उस्तै छिन् । भाइ–बहिनी सानै छन् । घर चलाउने र परिवारको भोक टार्नेदेखि आङ ढाक्नेसम्मको जिम्मेवारी मेरै काँधमा आयो । चार कक्षामा पढ्थें, बा थलापरेपछि कापी किन्ने पनि पैसा भएन । बाध्य भएर भट्टामा इँट्टा बोक्न गएँ’, १४ वर्षीय अर्जुन वादीले भने, ‘बस्तीमा धेरै पढेको पनि मै हुँ । घरको बाध्यताले सबैलाई पढ्न छुटाउँछ ।’

उनमा पढ्लेख गरी जागिर खाने रहर र सपना नभएका होइनन्, तर घरको आर्थिक अभावका कारण विद्यालय छोडी भट्टामा पुग्नु परिरहेको उनले बताए । ‘होस्टेल बसी पढ्न पाए अझै पढ्ने थिएँ, कसले मिलाइदिन्छ र ?’ उनले थपे ।

करण र अर्जुन मात्रै होइन बादी बस्तीका अधिकांश बालबालिका विद्यालय जानबाट वञ्चित छन् । सबैको समस्या गरिबी नै हो । 

बस्तीलाई गरिबीले यसरी गाँजेको छ कि आङ छोप्न र भोक टार्नकै लागि कोही बालबालिका इँटाभट्टामा काम गर्छन् त कोही बजारमा ज्यामी काममा खटिन्छन् । 



विद्यालय जाने उमेरका बालबालिकाहरू बजारमा श्रम बेच्न बाध्य भइरहेका छन् । आधारभूत शिक्षा मौलिक अधिकार रहे पनि बादी बस्तीका बालबालिकाहरूले अधिकार उपयोग गर्न पाएका छैनन् ।

‘नेताले पढाउँछौं मात्रै भन्छन्’ 



खोला किनारको बादी बस्तीका अधिकांशको मतदाता परिचय पत्र छ । चुनाव आए नेताहरू भोट माग्न पुग्छन् आश्वासन दिन्छन्, जितेपछि बिर्सन्छन् । स्थानीय भरत बादीले भने, ‘हामीलाई केही दिन नसके पनि छोराछोरी पढाइदिए हुन्थ्यो । हाम्रो जस्तो जीवन छोराछारी बन्ने थिएन । जति सत्ता फेरिए पनि, जसको सरकारले बने पनि हाम्रा अवस्था बीसको उन्नाइस भएनन् ।’ 

‘छाक टार्न धौ छ’

‘गाँसबास कै समस्या छ । छोराछोरी पढाउने केले ? न जग्गाजमिन छ, न पैसा । एकदिन काम नगरे चुलो बल्दैनन् । आधा पेट खाँदै आधा आङ ढाक्दै बाँचिरहेका छौं’, स्थानीय डल्ली बादीले भनिन, ‘छोराछोरी पढाउने रहर त छ, रहरले के हुन्छ र ?’ यो पीडा उनको मात्रै होइन बस्तीका सबै आमाको पीडा यही नै हो । जसका कारण बादी बस्ती अझै फेरिन सकेको छैन ।

गरिबी र अभावमा बाँचिरहेको बस्तीका बासिन्दाहरू यही पीडा खेप्दै जीवन टारिरहेका छन् । उनले थपिन्, ‘अरूको भरमा बाँचेका छौं । बिरामी परे पनि भोकै बस्नु पर्छ । सरकार हाम्रा लागि नभए जस्तै भा छ  ।’

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १७:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया