यस कारण रुसी राष्ट्रपति पुटिनले अहिलेसम्म बाइडेनलाई बधाई नदिएका रहेछन्
सन २०११ मा बाइडेन र पुटिनबीच भएको भेट । तस्वीर : एपी

अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भइसकेका छन्। अमेरिकी कानुन अनुसार उनी औपचारिक रुपमा राष्ट्रपति बन्न भने बाँकी छ। बाइडेन राष्ट्रपति बन्ने निश्चित भएसँगै विश्वभरका थुप्रै नेता तथा राष्ट्र प्रमुखहरुले बधाई दिइसकेका छन्। 

अमेरिकासँग टक्कर लिइरहने राष्ट्र रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले भने बाइडेनलाई अझैसम्म बधाई दिएका छैनन्। बाइडेनको जितबाट पुटिन खुसी नभएको र उनलाई बधाई दिन समेत नचाहेको भनी टिप्पणी हुँदै आएको छ।

अमेरिकाको अघिल्लो निर्वाचनमा रुसले ट्रम्पलाई निर्वाचन जिताउन मद्दत गरेको आरोप लाग्दै आएको थियो। रुस र ट्रम्पले यस आरोपको प्रतिवाद गर्दै आएका थिए। रुस अहिले पनि ट्रम्पकै जितको पक्षमा रहेको र यसै कारण राष्ट्रपति पुटिनले बाइडेनलाई बधाई दिन रुची नदेखाएको अड्कल गरिँदै आएको थियो। 

आफूले बाइडेनलाई अहिलेसम्म बधाई नदिनुका कारणबारे पुटिनले मुख खोलेका छन्। एक रुसी टेलिभिजनलाई दिएका अन्तवार्तामा पुटिनले यसबारे बताएका हुन्। पुटिनले कानुनी लडाइँको फैसला आएपछि बाइडेनलाई औपचारिक रुपमा बधाई दिने उनले बताएका छन्। 

बाइडेनलाई तत्काल बधाई नदिँदा दुई  देशबीचको अहिलेको सम्बन्धमा कुनै असर नगर्ने पुटिनले भनाइ छ।  'अहिले नै दुई देशबीच राम्रो सम्बन्ध नभएकाले यो भन्दा कति ने बिग्रेला र ?' भनेर पुटिनले प्रश्न गरेका छन्।  

उनले ट्रम्प र बाइडेन दुवैसँग आफ्नो राम्रो सम्बन्ध रहेको दावी गरेका छन्। अमरिकी जनताले चुनेका जुनसुकै राष्ट्रपतिसँग काम गर्न आफू तयार रहेको पुटिनले बताएका छन्। अमेरिकका घरेलु राजनीतिमा देखिएको संघर्षको अन्त्य होस् भनेर मात्रै बधाई दिनका लागि प्रतिक्षा गरेको उनको भनाइ छ। 





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १०:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया