बन्दीपुरमा बढ्यो पर्यटकीय चहलपहल
फरकधार / ८ मंसिर, २०७७

कोरोना संक्रमण बढेसँगै सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । महामारी बढेसँगै लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।

बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिए । ‘कोभिडका कारण लामो समय पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो,’ उनले भने, ‘परिस्थिति सहज हुँदै जान थालेपछि बन्दीपुरमा आन्तरिक पर्यटक आउन थालेका छन् ।’ 

चिसो मौसम बन्दीपुरमा पर्यटकको भीड हुने समय हो । कोभिडका कारण विगत वर्षजस्तो चहलपहल भने बन्दीपुरमा छैन । ‘अहिलेको बेला भनेको बन्दीपुरमा अत्यधिक विदेशी तथा स्वदेशी पर्यटकको भिड हुने समय हो, विगतका वर्षमा यतिबेला बन्दीपुरमा थामिनसक्नु भिड हुन्थ्यो,’ उनले भने, ‘अहिले कोभिडले परिस्थिति बदलिएको छ ।’

पछिल्लो समय निकै चर्चामा रहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण पनि बन्दीपुरमा पर्यटक बढेका छन् । बन्दीपुर आउने अधिकांश पर्यटक मानहुँकोट जाने र मानहुँकोट आएका पर्यटक बन्दीपुर आउने गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्न यहाँका व्यवसायीले छूट प्याकेजसमेत सार्वजनिक गरेका छन् । चाडपर्वलाई लक्षित गरी सबै होटेल तथा रेष्टुरेन्टले १० देखि १५ प्रतिशतसम्म छूट प्याकेज दिइरहेको क्षेत्रीय होटेल व्यवसायी संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले जानकारी दिए । प्रधानका अनुसार संघमा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छूट पाउनेछन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित व्यवसायी पर्यटक स्वागतमा जुटेको जानकारी दिए । राति बास बस्ने पर्यटकको संख्या कम रहे पनि दिउँसोमा घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहेको छ । 

उनका अनुसार हाल दैनिक एक हजार पर्यटक बन्दीपुर भित्रिएका छन् । ‘शुक्रवार र शनिवार त्यो संख्या चार–पाँच हजारसम्म पुग्छ,’ उनले भने । बन्दीपुरमा होटेल संघसँग आबद्ध सानाठूला गरी ७७ होटेल सञ्चालनमा छन् । बन्दीपुरबाट विभिन्न हिमशृङखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १४:२४:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया