बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि ओर्लियो

केही दिनदेखि लगातार बढेको सेयर बजारमा सोमवार भने सामान्य करेक्सन भएको छ । यो दिन  बजारमा २ दशमलव ३८ अंक करेक्सन भएको हो । 

लगातार बढेको बजारमा सोमवार भने लगानीकर्ताले नाफा बुक गरेका छन् । कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने क्रम चलिरहेकाले यो समय बजार घट्ने वातावरण नभएको जानकार बताउँछन् । बजार करेक्सन हुँदै अघि बढ्ने हुँदा संयमित भएर कारोबार गर्न जानकार लगानीकर्ताले आग्रह गरेका छन् । 

कात्तिक २३ गतेदेखि सेयर बजारले निरन्तर गति लिइरहेको थियो । आइतवार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा बन्द भएको बजार सोमवार १ हजार ७८९ दशमलव ३६ विन्दुदेखि खुला भएको थियो । 

१ हजार ७९२ विन्दु पार गरेको सोमवारको बजार बन्द हुँदा १ हजार ७८० दशमलव ४३ विन्दुमा अडिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंक घटेर ३४४ दशमलव ९५ विन्दुमा झरेको छ ।

निकै उतारचढाबका बिच सोमवार ४ अर्ब ७८ करोड २७ लाख ४ हजार बराबरको सेयर कारोबार भएको छ । आइतवार करीब ७ अर्बको कारोबार भएको बजारमा सोमवार भने कारोबार रकममा पनि कमी आएको छ । सोमवार १९९ कम्पनीको ४६ हजार २४० पटकको व्यापारमा १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर खरीदविक्री भएको छ । 

यो दिन सर्वाधिक रकमको सेयर कारोबार गर्ने कम्पनीमा पहिलोमा नेपाल बैंक र दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । विगत लामो समयदेखि निरन्तर सर्वाधिक रकमको कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीलाई सोमवार भने नेपाल बैंकले उछिनेको छ ।



 सोमवार नेपाल बैंकको ३० करोड २२ लाख ७ हजार र नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३० लाख ३३ हजार बराबरको सेयर खरीदविक्री भएको हो । सर्वाधिक रकमको कारोबार भएको नेपाल बैंक लिमिटेडको सेयरमूल्य सोमवार प्रतिकित्ता १३ रुपैयाँले बढेर अन्तिम मूल्य रू. ३६८ पुगेको छ । 

त्यस्तै, दोस्रो नम्बरमा सर्वाधिक रकमको कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य भने सोमवार प्रतिकित्ता रू. ११ ले घटेर अन्तिम मूल्य रू. १ हजार १२७ कायम भएको छ । सोमवार हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी र हिमालयन डिष्टिलरी लिमिटेडको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।



हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ९२ प्रतिशत अर्थात प्रतिकित्ता रू. २५ ले बढेर रू. २७७ मूल्य कायम भएको छ भने हिमालयन डिष्टिलरीको ९ दशमलव ४५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २६९ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ११५ पुगेको छ ।

सोमवार बैंकिङ समूहको शून्य दशमलव ४५ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ४१ प्रतिशत, होटल समूहको ३ दशमलव ७७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ५८ प्रतिशत परिसूचक बढेको छ ।

त्यस्तै, यो दिन विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव १२ प्रतिशत, वित्तको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३४ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, जीवन बीमाको १ दशमलव ६८ प्रतिशत र म्यचुअल फण्ड समूहको १ दशमलव ४७ प्रतिशतले परिसूचक घटेको छ । सोमवार होटल समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।


 

  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १६:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया