नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।
बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा ग्राउण्ड स्टाफको पिसिआर परीक्षणका लागि मंगलबार टियु मैदानबाटै स्वाब संकलन गरिने क्यानले जनाएको छ ।
पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडीलाई मात्र प्रशिक्षणमा सहभागी गराइने बताइएको छ । खेलाडी तथा प्रशिक्षकलाई राजधानीको एक होटलमा राखिनेछ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको क्यानको भनाइ छ ।
खेलाडी राख्नका लागि होटल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले जानकारी दिए ।
स्वास्थ्य मापदण्डमा क्यान संवेदनशील रहेको बताउँदै उनले अहिलेको अवस्थामा सम्पूर्ण कुरा मिलाउनु चुनौती रहेको भए पनि खेलाडी मैदान उत्रन उत्साहित रहेको बताए ।
क्यानले राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा जगत टमाटा तथा टिम व्यवस्थापकको जिम्मा फिजियो विक्रम न्यौपानेलाई दिएको छ ।
करिब ९ महिनापछि मैदान फर्किन लागेको नेपाली क्रिकेट टिमका लागि क्यानले भारतका आशय हतकरलाई फिटनेस ट्रेनरका रुपमा नियुक्त गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।