बिजोक फोरलेन सडक
कार्यालय भन्छ– ठेकेदारले काम गरेन, ठेकेदार भन्छन्– कार्यालयले गर्न दिएन

लमही तुलसीपुर सडकखण्डमा निर्माणाधीन ४९ किमि फोरलेन सडक अलपत्र बनेको छ । फोरलेन सडकको निर्माण सम्झौताको म्याद सकिन अब ६ महिना मात्रै बाँकी छ । तर, सडकको काम अहिलेसम्म ५ प्रतिशत मात्रै प्रगति भएको छ । ०७५ पुस १३ गतेदेखि सुरु भएको फोरलेन सडकको काम ३० महिनामा सम्पन्न गर्ने निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित कार्यालयको मौनताका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको नागरिकको गुनासो छ । निर्माणका नाममा जताततै पारिएका खाल्टा, धुलो र हिलोले नागरिक समस्यामा परेको घोराही–१६ निवासी महेन्द्र बुढाथोकीको भनाइ छ । उनले भने, ‘बनाउने नाममा सडक भत्कायौँ, न सडक बन्छ, न खाल्टा पुरिन्छ, जोखिम मोल्दै सवारी साधन चलाउनुको विकल्प छैन ।’

भारतको मुम्बईमा रहेको तथ्य इन्जिनियरिङ कम्पनीले निर्माणको जिम्मा लिएको छ । कम्पनीले समयमै काम नगर्दा सडक निर्माणले तिव्रता पाउन नसकेको भालुवाङ–बाग्दुला–भिमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालयका प्रमुख पारसमणि हमालको भनाइ छ ।

फोरलेन सडक निर्माणका लागि कम्पनीले १० प्रतिशत ‘मोबिलाइजेसन’ खर्च लिए पनि उक्त रकम बराबरको कार्य प्रगति नभएकाले आयोजनाले उक्त रकमको ५ प्रतिशत रकम फिर्ता लिई निर्माण कम्पनीलाई कारबाही गरेको उनले जानकारी दिए । उनले भने, ‘१० प्रतिशत मोबिलाइजेसन रकममा ५ प्रतिशत प्रगति प्राप्त भयो । बाँकी ५ प्रतिशत रकम आयोजनाले फिर्ता लियो ।’

निर्माण कम्पनीका प्रतिनिधिहरूले तोकेबमोजिमको काम गर्न नसक्दा रकम फिर्ता लिएको उनको भनाइ छ । उनले थपे, ‘ठेक्का एउटाले लिने र काम अर्काे गर्दा नै यस्तो भएको हो । ठेकेदार भारतीय, कामदार नेपाली हुँदा नै समस्या भएको हो ।’

निर्माण सम्पन्न गर्न थोरै समयावधि रहे पनि कम्पनीले चासो नदिएको उनको गुनासो छ । ‘मुम्बईका ठेकेदार आउँदैनन्, प्रतिनिधिले जवाफ दिँदैनन्, सडक अलपत्र छ । काम सक्ने समय थोरै छ ।  मोबिलाइजेसन रकमको उपलब्धि देखिएन फिर्ता लियौं । आयोजनाले गर्न सक्ने यति नै हो, योभन्दा अर्काे विकल्प छैन ।’



निर्माण कम्पनीले फोरलेन सडकको काम गर्न खोजे पनि आयोजना कार्यालय अझै सडक निर्माणको ‘फिक्स’ डिजाइन दिन नसकेको तथ्य इन्जिनियरिङ कम्पनीका कन्ट्रयाक म्यानेजर दिवाकर कुमार राजको भनाइ छ ।

घोराहीको बबईखोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको ४९ किमिमध्ये पहिलो चरणमा बबईखोला–चौघेरा, सर्रा–नारायणपुर, नारायणपुर–दुधराससम्म टु–लेन बनाउने सम्झौता भए पनि सरकारले यी क्षेत्रमा चारलेन विस्तार गर्ने निर्णय गरे पनि डिजाइन दिन नसक्दा सडकको कामले गति लिन नसकेको उनले बताए  ।



उनले भने– ‘काम त गर्ने हो । कसरी गर्ने ? कति गर्ने ? अहिलेसम्म फेरिएको डिजाइन कार्यालयले दिन सकेको छैन ।’ डिजाइन मात्रै होइन आयोजनाले रकम समेत उपलब्ध गराउन नसक्दा सडक निर्माण अलपत्र परेको उनले बताए । 

फोरलेन सडकका लागि १ करोड, २१ लाख ८२ हजार अमेरिकन डलरमा पहिलो सम्झौता भए पनि दोस्रो सरकारी डिजाइनमा थपिएको काम बराबरको रकम नथप्दा पनि कम्पनीले काम गर्न नसकेको उनको भनाइ छ ।  

उनले, ‘काम थप्ने बजेट नथप्ने, कम्पनीले त्यही रकममा कसरी काम गर्न सक्छ ? ’ आयोजनाको ढिलासुस्ती र लापरबाहीका कारण फोरलेन काम अलपत्र परेको हो । यसमा कमजोरी निर्माण कम्पनीको भन्दा पनि आयोजना आफैंले गरिरहेको छ । दोष कम्पनीलाई लगाउँदै आयोजना पन्छिँदै गरिरहँदा समस्या थुप्रिएको हो ।

फोरलेन सडक विस्तारका लागि नयाँ सर्वे सहितको आवश्यक कागजात निर्माण कम्पनीले आयोजना कार्यालयमा पेस गरे पनि कार्यालयले भ्युसर्वे नगर्दा फोरलेन सडकको रोकिएको उनको भनाइ छ । कार्यालयले आवश्यक काम अघि नबढाउँदा निर्माण कम्पनी दोषी देखिएको उनको आरोप छ । उनले भने, ‘सडक विस्तारको काम कम्पनीले होइन सरकारले आफैंले रोकिरहेको छ । मन्त्रालयमा फाइल रोकिएको छ ।’

  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १९:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया