जो कोरोना संक्रमितको शवदहन गर्दागर्दै आफैँ संक्रमित भए

जीवन ठूलो कि जिम्मेवारी ? 

संसारलाई आक्रान्त बनाइरहेको भाइरस कोभिड–१९ को संक्रमण सुरु हुनुअघि यो प्रश्नउपर कहिल्यै विचारेका थिएनन् सुवास कार्कीले। यसो भनौं विचार्नु परेको थिएन। उनी त केबल आफ्नो काम इमान्दारीपूर्वक गरिरहेका थिए। यस प्रश्नलाई लिएर अहिले भने उनको मनमा दुविधा छैन । यसको उत्तर पाइसकेका छन्।

जिम्मेवारी र कर्तव्य ठूलो। 

तर, उनलाई यो प्रश्नबारे सोच्न जुन परिस्थितले बाध्य पार्‍यो, त्यो परिस्थिति सहज थिएन। उनको मनले जुन उत्तर चुन्यो त्यसलाई व्यवहारमै लागु पनि गरे। नत्र उनी जीवनप्रतिको मोह त्यागेर अहिले यो काम गरिरहेका हुँदैन्थे। उनलाई जिम्मेवारीभन्दा जीवन ठूलो लागेको हुँदो हो त उनले त्यतिबेला नै यो काम छाडिसकेका हुन्थे, जतिबेला उनी कोभिड–१९ संक्रमणपछि कारण आइसियूमा भर्ना हुनुपर्यो। अनि संक्रमित भएका कारणै आफ्नै सहकर्मीद्वारा निकृष्ट व्यवहार गरियो। 

000

नाम : सुवास कार्की 
उमेर : ३०
स्थायी घर : गाईघाट, उदयपुर
अस्थायी घर : गौरीघाट, काठमाडौं
पेशा : कोरोना संक्रमितको शवदहन गर्ने 
स्थान : पशुपतिस्थित विद्युतीय शवगृह



सुवास कार्की पशुपति क्षेत्र विकास कोषको जागिरे भएको १३ वर्ष भयो। उनले सुरुमा सुरुक्षा गार्डको नियुक्ति पाएका थिए। सात वर्ष सुरक्षा गार्डको काम गरेपछि उनको पदोन्नति भयो प्रशासन विभागमा। 

सुवास २ वर्षदेखि शवगृहमा व्यवस्थापको भूमिकामा छन्। उनी यहाँ दहन गर्न ल्याइने शवलाई दहन गर्ने चाहिने सबै व्यवस्था मिलाउने काम गर्छन्। नेपालमा कोरोनाले महामारीको रुप लिनुअघि उनका लागि यो काम खासै गाह्रो थिएन। 



जब जेठ २ मा पहिलोपल्ट कोरोनाबाट मृत्यु भएकाको शव यहाँ दहन गर्न ल्याइयो, त्यसभन्दा पछिका दिनमा सुवासलाई सहज भएन। त्यतिबेला नेपालमा कोरोना संक्रमण केसहरु बढिरहेका मात्र थिएनन्, मर्नेको संख्या पनि बढ्न थालिसकेको थियो। 

अरुलाई झैं कोरोनाको डर उनलाई पनि थियो। अब उनको डर सामान्य मान्छेलाई भन्दा बढी भयो। उनी कोरोनासँग ज्यान गुमाउनेको शवसँग प्रत्यक्ष सम्पर्कमा आउनु पर्नेभयो।  

‘जेठ २ गते पहिलो केस आयो। हामीलाई साह्रै डर लागेको थियो,’ सुवास त्यो दिनको अनुभव सुनाउँछन् ‘तर, हाम्रो कामै यही भएकाले डर मानेर पन्छिन पाइँदैन्थ्यो।’
उनको डर तब झन् चुलियो, जब पहिलो शव जलाएको ८ दिनपछि नै संक्रमितको अर्का शव आयो।  ‘अवस्था त भयावय नै हुन्छ क्यारे ?’ मनमा हलचल मच्चियो। 

उनले सबै केसलाई सावधानी र सचेतापूर्वक ‘ह्यान्डल’ गरे। साउन २६ गतेदेखि सरकारले विद्युतीय शवदाह गृहमा कोरोनाबाट मृत्यु भएकाको मात्रै अन्त्येष्टि गर्ने निर्णय गर्‍यो। 

यसपछि संक्रमणको त्रास झन बढ्दै गएको सुवास सुनाउँछन्। 
‘सुरुसुरुमा शवबाट संक्रमण सर्ला कि भन्ने मात्र डर थियो। पछि शवसँगै मलामीबाट पनि सर्ला भन्ने डर लाग्न थाल्यो,’ उनले सुनाए, ‘एउटै मृतकका दुई सय भन्दाबढी मलामी आइदिने।’

नभन्दै उनलाई कोरोना संक्रमण भइसकेको रहेछ। यो कुरा उनले शंका लागेर जाँच गर्न गएपछि भदौ १२ गते थाहा पाए। उनमा कोरोनाका सामान्य लक्षणहरु भदौ १ गतेदेखि नै देखिन थालेको थियो। सुवासलाई कामको चाप यति थियो कि,   आफ्नो अस्वस्थ्पनबारे चासो राख्ने फुर्सदै मिलिरहेको थिएन। उनको टाउको टन्टनी दुखिरहेको थियो, तैपनि उनी ‘ब्रुफिन’ खाएर काममा आउँथे। 

‘१२ गते निकै गाह्रो भएपछि अस्पताल गएँ। कोरोना चेक गराउँदा पोजिटिभ देखियो।’सुवासले भने।

कोरोना पोजिटिभ देखिएपछि उनी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भए। सुरुका तीन दिन उनलाई निकै सकस भयो। सास फेर्न गाह्रो भएपछि आइसियूमा बस्नुपर्‍यो। १४ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएर   गौरीघाटस्थित डेरामा फर्किए। ७ दिन डेरामै बसे।  

000

सुवास तंग्रिए। अनि फेरि जोडिए आफ्नो पुरानै काममा। जब उनी काममा फर्किए त्यसपछि सहकर्मीले उनीमाथि यस्तो व्यवहार गरेकी, त्यो कोरोना संक्रमणपछि आइसियूमा बस्नुपर्दाको भन्दापनि पीडादायी थियो।  

‘कोरोना सर्छ भनेर सजग हुनु स्वभाविक हो,’ उनले मलिन स्वरमा भने, ‘म त कोरोनामुक्त भएर मात्र काममा फर्किएको थिएँ नि, मैले उनीहरुको काल नै बोकेर ल्याएजस्तो किन गर्नुपर्थ्यो ?’ 

उनका साथीहरु उनी हिँडेको बाटो हिँड्दैन्थे। उनले बसेर खाएको चियापसल र बसेको कुर्सीमा बस्दैन्थे। कसैले मुखैअगाडि भने र कसैले पिठ्यूँपछाडि कुरा काटे। 
‘मलाई सोच्दा मात्रै पनि अथाह पीडा हुन्छ,’ उनले भने, ‘मलाई यति पीडा त कोभिड हुँदा पनि महसुस भएका थिएन। 

कोरोनाको डर र आफूमाथिको यस्तो व्यवहारका कारण सुवास जागिर छाड्ने मनस्थितिमा पनि पुगे। तर, उनी यो विचारमा धेरै समय स्थिर हुन सकेनन्। उनलाई लाग्यो–जिम्मेवारी र कर्तव्यबाट भाग्नु हुँदैन। 

‘मैले जागिर छाड्नेबारे धेरै सोचेँ। जीवनभन्दा ठूलो जागिर होइन भन्ने लाग्यो,’ त्यो बेला मनमा उब्जिएको दुविधाबारे सुनाए, ‘लाग्यो, जागिर जीवनभन्दा ठूलो भन्ने त  हैन तर, जागिर पैसा कमाउने स्रोत मात्र पनि होइन, कर्तव्य पनि हो। बाँच्नुको सार हो।’

उनले सोचे डर हरेक ठाउँमा छ, चुनौती हरेक ठाउँमा छन्। समस्याबाट भाग्दै गएर पुग्ने कहाँ ? चुनौतीको सामना गरेर अघि बढ्नुमा पो जीवनको सार्थकता छ। 
अनि डर, सहकर्मीको व्यवहार सबैलाई पन्छाएर कर्तव्यमै तल्लीन भए। अहिले पनि जिम्मेवारीमा डटिरहेका छन्।  

000

परिवारलाई चिन्ता हुन्छ भनेर सुवासले आफ्नो कामबारे घरमा जानकारी दिएन थिएनन्। उनले दशैंमा घर गएका बेला बाबुआमालाई आफ्नो कामबारे थाहा दिए। 
सुवासकी श्रीमती पढाईको सिलसिलमा जापनामा छिन्। छोरा सुवाससँगै काठमाडौंमा बस्छन्। उनलाई अहिलेको सबैभन्दा ठूलो चिन्ता छोरालाई कोरोना सर्ला कि भन्ने छ। तर विकल्प छैन। ‘अब डर मानेर हुने केही होइन। लाग्नु छ भने लाग्छ।’ उनी यसरी मनलाई सान्त्वना दिन्छन्। 

कोरोना मान्छेहरुले भने र सोचेजस्तो सजिलो नुहने भएकाले सकेसम्मको सावधानी अपनाउन उनको सुझाव छ। ‘मान्छेहरु कोरोना सामान्य रुघाखोकी हो भनेर सामान्य रुपमा लिइरहेका छन्। तर, हामीले सोचेजस्तो सजिलो छैन है,’ उनी भन्छन्, कति खतरा हो भन्ने कुरा म आफैंले भोगेको छु।’

विद्युतीय शवगृह २०७२ बाट सञ्चालनमा आएको थियो। अहिले १५ जना कर्मचारी कार्यरत छन्, जसमध्ये ६ जनालाई कोरोना संक्रमण भइसक्यो। पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गोविन्द आयार्यको कोरोनाकै कारण मंसिर २ गते मृत्यु भयो। 

अहिले यहाँ शवदहन गर्ने तीनवटा मेसिन छन्। यीमध्ये दुई पुरानै हुन् भने एक दशैंपछि मात्र जडान गरिएको हो। यहाँ दैनिक करिब १५ शव आउँछन्।

प्रशासनले खुकुलो गरेपछि धेरैले कोरोनालाई खेलाँची ठानेको सुवासको बुझाइ छ ‘म तपाईंलाई यहीँको उदाहरण दिन्छु। लकडाउनअघि धेरै मलामी आउँदैनथे,’ उनी चिन्तित छन्, ‘ अहिले एक शवसँग कम्तिमा दुई सय जना मलामी आउँछन्। संख्या झन्झनै बढिरहेको छ।’
पछिल्लो समय शवभन्दा मलामीबाट कोरोना सर्ला भन्ने डर धेरै छ उनीहरुलाई।  
 

  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १५:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया