मुख्य नाका बन्द हुँदा चोर नाकाको प्रयोग
जोखिम मोलेर चोर बाट प्रयोग गरी आवत–जावत गर्दै धनगढीका स्थानीय । तस्बिर : कैलाश जोशी/फरकधार

नेपाल–भारत सीमा नाकामा सहजै आवत–जावत गर्न रोक लगाएको ८ महिनाभन्दा बढी भएको छ । यसले गर्दा सीमावर्ती बजारमा व्यापार व्यवसाय प्रभावित भएको छ । सामान्य घरायसी सामग्रीका लागि गौरीफन्टा पुग्ने धनगढीका स्थानीय ६ महिनादेखि सीमावर्ती वन गाउँ बजार गएनन् । यसले गर्दा नेपाल–भारत सीमावर्ती वन गाउँ बजार सुनसान बन्यो । 

नेपाल सरकारले रोजगारीका लागि भारतमा जाने बाहेकलाई अझै पनि गौरीफन्टा नाका सहज बनाएको छैन । उनीहरूलाई पनि भारत जान नागरिकता अनिवार्य गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

धनगढीबाट तीन किमि दूरीमा रहेको भारतको वनगाउँ बजार धनगढीकै उपभोक्तामा निर्भर छ । पछिल्लो समय सामान्य घरायसी सामग्री किनमेलका लागि धनगढीवासीहरू वैकल्पिक बाटो भएर वन गाउँ बजार पुग्ने गरेका छन् ।

कोरोना संक्रमणको महामारीको डरले विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा दैनिक सयौं संख्यामा नेपाल भारतको सिमानामा पर्ने मोहना नदी पार गरेर उनीहरू पारी पुग्ने गरेका छन् ।

‘नुन, तेल, चिनी, तरकारी लगायत घरायसी प्रयोजनका लागि आवश्यक सामान किन्न भारतीय बजार जाने गरेको छौँ’, धनगढी उपमहानगरपालिका–३ की हरिप्रिया अवस्थीले भनिन्, ‘गौरीफन्टा नाकाबाट जान दिँदैनन् । यहाँको भन्दा पारी धेरै सस्तो भएको हुँदा जोखिम मोलेरै भए पनि सामग्री किन्न जाने गर्छौं ।’

दुधवा नेसनल पार्कको बीचमा पर्ने वन गाउँ बजार जान ठूलो जंगल पार गर्नुपर्ने हुन्छ । नेपाल तथा भारतका सुरक्षाकर्मी र वन रक्षकको आँखा छलेर पारी जानुपर्ने बाध्यता भएको उनले गुनासो गरिन् ।



धनगढीको भन्दा आलु, चिनी र प्याज धेरै सस्तो हुँदा पारी जाने गरेको धनगढीकै सरस्वती वलीले बताइन् ।

कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार सीमावर्ती बजारमा नेपालीलाई प्रवेशमा पूर्ण रोक छ । सामान्य किनमेलका नाममा चोरबाटो भएर पारी जाने हुँदा तस्करहरूले समेत फाइदा लिएका छन् ।



नेपाली बजारमा व्यवसाय बढ्यो

कोरोना कहर सुरु भएपछि भारतसँगका नाका बन्द भएको ८ महिना बितेको छ । नाकाबाट मालबाहक गाडी र नेपालीलाई मात्रै आउन दिइएको छ । भारती नागरिकलाई अझै पनि सहजै नेपाल आउन दिइएको छैन ।

घरायसी सामग्रीका लागि चोर बाटो प्रयोग गरेर पारी जाँदा जाँदै पनि धनगढीको व्यापार भने बढेको व्यवसायीले बताएका छन् । सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रूपमा धनगढीमा चहलपहल बढेको व्यवसायीले बताए ।

सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार वन गाउँ सुनसान जस्तै छ । एक किलो चिनी तथा साबुनका लागिसमेत यस क्षेत्रका नागरिकहरू सीमावर्ती बजार पलिया तथा वन गाउँ पुग्ने गरेका थिए ।

उनीहरूलाई कोरोना महामारीले स्थानीय बजारमै किनमेल गर्ने वातावरण बनाएको छ ।

यसले स्थानीय व्यवसायमा टेवा पुगेको किराना व्यवसाय गर्दै आएका सह रनिङले बताए । नेपाली ग्राहकलाई मात्रै लक्षित गरेर सञ्चालन भएका सीमावर्ती बजार बन्द हुनुपर्ने उनको धारणा छ ।

भारतमा बिक्री नभएको गुणस्तरहीन सामानसमेत व्यापारीले सीमावर्ती बजारमार्फत् बिक्री गरेको गुनासो नेपाली व्यवसायीको छ । घरका लागि सामान ल्याउँदा भन्सार छुटसँगै जाँचसमेत नहुने हुँदा सरकारको राजस्व घाटासँगै उपभोक्ताको स्वास्थ्यमासमेत असर परिरहेको व्यवसायी बताउँछन् ।

सीमावर्ती बजारले एकातिर व्यवसायीलाई घाटा छ भने अर्कोतिर सरकारलाई राजस्व नआउने र उपभोक्ताले मापदण्ड नपुगेको खाद्य वस्तुसमेत उपभोग गर्नुपरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर बताउँछन् ।

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १९:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया