सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको नेकपाको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको प्रतिउत्तरमा प्रतिवेदन तयार पारेका हुन् ।
५३ बुँदामा तयार पारिएको ३८ पेज लामो उक्त प्रतिवेदनमा ओलीले माओवादी पार्टी शान्ति प्रक्रियामा आएर हालसम्म भएका राजनीतिक घटनाक्रमहरू समेत जोडेर यसबीचमा प्रचण्डसँग भएका तितामिठा कुराहरू समेत उल्लेख गरेका छन् । उनले, विगतमा भएका गठबन्धनको सरकारदेखि हाल एकै पार्टी हुँदासम्म भएका राजनीतिक घटनाहरूमा प्रचण्डले गरेका व्यवहारहरू उल्लेख गरेका छन् ।
‘नाकाबन्दी जस्तो प्रतिकूल र इतिहासकै कठिन कालखण्डमा निर्माण भएको, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र मुलुकको उज्ज्वल भविष्यका लागि युगान्तकारी काम गर्दै अगाडि बढेको सरकारलाई ढाल्न, सरकार गठन भएको सात महिना नबित्दै तपाईं स्वयं अग्रसर हुनुभयो’, ओलीले भनेका छन् ।
उनले प्रचण्डले मुलुकबाट एमालेलाई किनारा लगाउने प्रयासको अगुवाइ गर्दासमेत आफूले केही गुनासो नगरेको उल्लेख गरेका छन् । ‘एमालेलाई मुलुकबाट किनारा लगाउने अभियानको अगुवाइ गर्नुभयो । त्यतिबेलाको तपाईंको गठबन्धनका एकजना नेताले बारम्बार उल्लेख गर्ने गरेको ‘एमालेबिहीन मुलुक’प्रति तपाईंको प्रतिक्रिया के थियो, मैले कहिल्यै सोधिनँ । तर, त्यो प्रयोग असफल भयो’, प्रतिवेदनमा ओलीले भनेका छन् ।
त्यस्तै ओलीले गएको स्थानीय निर्वाचनमा प्रचण्डको अवस्था यति दयनीय भयो कि, उनले आफ्नै छोरी जिताउन मतपत्र च्यात्ने कुराको सहारा लिनुपरेको उल्लेख गरेका छन् । स्थानीय चुनावमा सारा घेराबन्दीलाई तोड्दै नेकपा (एमाले) पहिलो शक्तिका रूपमा उदाएको प्रसंग उल्लेख गर्दै ओलीले भनेका छन्, ‘अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्यायो । तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गाँसिँदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने ।’
स्थानीय निर्वाचनमा काँग्रेससँग गरेको गठबन्धन असफल भएपछि एमाले र माओवादी एकठाउँमा उभिने अवस्था आएको ओलीले उल्लेख गरेका छन् । ‘मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन– कमरेड, आफैं सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन ? म आज पनि यो प्रश्न सोध्दिनँ, किनभने यो राम्रो कामका लागि तपाईंले लिएको जोखिम हो भनेर मैले अनुमान गरेँ’ ओली भन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।