प्रचण्डलाई आफूमाथि लगाएका आराेप पुष्टि गर्न ओलीकाे चुनाैति

सत्तासिन नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अब राजनीतिक प्रतिवेदनमा नै पुगेर आरोप प्रत्यारोप लगाउने काम सुरु भएको छ । 

शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले प्रचण्डले यसअघि प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिएका छन् । 

यसअघि प्रचण्डले राखेको प्रतिवेदनमा पनि ओलीविरुद्ध निकै धेरै आरोप लगाइएको थियो । 

अब ओलीले प्रचण्डको प्रस्तावमा नै आधारित रहेर विभिन्न आरोप लगाएका छन् । 

तीमध्ये एक हो, प्रचण्डले पार्टी फुटाइसकेका छन् । ओलीको प्रतिवेदनको पाँचौ बुँदामा लेखिएको छ, ‘तपाईंको प्रस्ताव वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोगपत्र हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।’

अहिले प्रचण्डको प्रतिवेदन हातहातमा बोकेर विपक्षीहरु हिँडिरहेको र उनीहरुले नेकपालाई खुइल्याउन खोजेको आरोप पनि ओलीले लगाएका छन् । 



प्रचण्डको प्रस्तावमा आफूलाई मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप पनि लगाइएको भन्दै ओलीले भनेका छन्, ‘यति गम्भीर आरोप लागेको मान्छे आत्मालोचना गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधानअनुसार कार्बाहीको भागिदार बन्नुपर्छ ।’

त्यसपछि उनले प्रचण्डलाई चुनौति दिएका छन्– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।




  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १८:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया