प्रचण्डलाई ओलीको सुझाव– अपारदर्शी हुनुभयो, राजनीति छोड्नुस्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको विवाद उत्कर्षमा पुगेको छ । 

शनिबार बालुवाटारमा बसेको सचिवालयमा बैठकमा यसअघि २८ कार्तिकको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ ओलीले दिएका छन् । 

ओलीले दिएको जवाफमा प्रचण्डमाथि गम्भीर आरोपहरु लगाइएका छन् । त्यसो त यसअघि प्रचण्ड समूहबाट आएको प्रस्तावमा पनि ओलीविरुद्ध निकै धेरै आरोप लगाइएका थिए । 

आज ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा चाहिँ प्रचण्डलाई राजनीति छोड्नसमेत अनुरोध गरिएको छ । 

‘कामरेड ‘प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ? राजनीतिमा सहमत हुन पाइन्छ, असहमत हुन पनि पाइन्छ,’ ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘भएको पार्टी विघटन गर्न र नयाँ पार्टी बनाउन पनि पाइन्छ । भएकै कुनै पार्टीमा जोडिन पाइन्छ । तपाईं आफै यस्ता कुरालाई स्वाभाविक र आफ्नो नियमित अभ्यास भन्ने गर्नुहुन्छ ।’

ओलीले प्रचण्ड भत्काउने–बनाउने–फेरि भत्काउने विषयलाई गर्वका साथ लिने गरेको व्यक्ति भएको पनि बताएका छन् । 



उनले घुमाउरो पारामा दिक्क लाग्दा राजनीति छोड्न सकिने भन्दै प्रचण्डलाई राजनीति छोड्नसमेत सुझाव दिएका छन् । ‘विश्राम लिन पनि पाइन्छ । तर लोकतन्त्रमा पारदर्शिता र नैतिकता ठूलो विषय हो । युद्धका बेला काम लागेका विधिहरु शान्तिपूर्ण, लोकतान्त्रिक र खुल्ला समाजमा सधैभरि काम लाग्दैनन् । मेरो प्रश्न तपाईंले लिन खोजेको बाटोप्रति होइन, ती कामलाई ‘सहमति’ को आवरणमा गर्नुभएको दोहोरो मापदण्ड र बहानाबाजीका हकमा हो,’ ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।




  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १९:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया