वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले भने- चुनावसँगै महासंघमा प्यानल सकियो
फरकधार / १४ मंसिर, २०७७

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले चुनावी परिणामसँगै महासंघमा प्यानल सकिएको बताएका छन् । ​

मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले यस्तो बताएका हुन् । उनले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने विश्वाससमेत व्यक्त गरेका छन् । 

‘अब चुनावसँगै प्यानल पनि सकियो’, ढकालले भने, ‘हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद  ।’

महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल ढकाल निर्वाचित भएका हुन् । आइतबार बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । 

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका छन्। 

यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र  प्रधानले ३९ मत प्राप्त पाएका छन् भने  ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत पाउँदा  प्रधानले ५३ मत ल्याएका छन् । 

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका छन् । 

यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । 

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् । 

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । प्रधान समूहबाट भाग लिएका वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।

 ​

वस्तुगततर्फ विजयी हुनुभएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले  ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत ल्याए ।

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत ल्याए । 

महासङ्घको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भएका छन् । 

त्यसैगरी गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा विजयी भएका छन् । 

  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार ८:८:१८,   अन्तिम अपडेट : मंसिर १४, २०७७ आइतबार ११:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया