उपत्यकामा विद्यालय खुल्ने कहिले ?
काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराई ।

कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भए पनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ ।

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन सुरु भए पनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो । उपत्यकामा संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय सञ्चालन हुन केही समय लाग्न सक्ने उपत्यका मेयर फोरमको आंकलन छ ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन भए पनि औपचारिक पठन–पाठनका लागि अझै समय लाग्ने काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराईले बताए । महानगरपालिका र उपत्यका मेयर फोरमले संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने निर्णय गरेको उनले बताए ।

स्थानीय तहले विद्यालयसँग समन्वय गरेर सञ्चालन गर्न सकिने सरकारले बताए पनि उपत्यकाको हकमा तत्काल मिति तोक्न सकिने अवस्था नभएको उनको भनाइ छ । कक्षा १२ को परीक्षा सम्पन्न भएपछि विद्यालय सञ्चालनको आधार तय हुने उल्लेख गर्दै उनले पूर्वाधार तयार गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सक्ने विद्यार्थीहरुको भएको कक्षाहरूमा पढाइ सुरु गर्ने गरी अगाडि बढ्ने तयारी भएको बताए ।

उनले भने, ‘समय दिन सक्ने अवस्था छैन । देशभित्र मात्रै नभएर बाहिरका मान्छेको जमघट पनि हुने भएकाले फुर्सदमा पछुताउनुभन्दा अलि ढिलै भए पनि व्यवस्थित ढंगले पठनपाठन सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने सोचमा महानगर छ । उपत्यका मेयर फोरम पनि संघीय सरकारसँग समन्वय गरेर अगाडि बढिरहेको छ ।’

चिसो मौसममा भाइरस बढी सक्रिय हुन सक्छ भन्ने आंकलन भइरहेकाले पनि संक्रमण कम भएका स्थानीय तह वा वडाहरूबाट विस्तारै विद्यालय खोल्ने गरी अगाडि बढ्नुपर्ने उनले बताए । गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा सुरु भएपछि विद्यार्थी र अभिभावकहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न र विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गएको उनले बताए । महामारीको समयमा आइपरेका ठूला चुनौतीकाबीच पनि परीक्षा सञ्चालन हुनु सकारात्मक पक्ष भएको भट्टराईको भनाइ छ ।



 



  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १३:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया