निर्माण सामग्रीको मूल्यवृद्धिले व्यवसायी मारमा : महासंघ


कोरोना महामारीबीच निर्माण कार्य सुरु हुने समयमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको छ । विभिन्न क्षेत्रमा प्रयोग हुने निर्माण सामाग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्याधिक रुपले मूल्य वृद्धि गरिएकोप्रति ध्यानाकर्षण भएको निर्माण व्यवसायी महासंघले जनाएको छ । 

फलामजन्य सामाग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ती, जिआई तार, ग्याविन तार उत्पादक कम्पनीले र ढुंगा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्याधिक मूल्य वृद्धि गरेको महासंघले जनाएको छ ।

‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्यधिक रुपले मूल्यबृद्धि गरी मिलोमतो गरेको देखिएको छ,’ महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ ।

त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामाग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । गृहको निर्णय बमोजिम निर्माणाधीन परियोजनामा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएकोप्रति महासंघले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रुपले क्रसर बन्द हुन गएको र यसबाट अभाव सिर्जना हुन गई खानीजन्य निर्माण सामग्रीमा सिमित व्यवसायीको मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गराई कालोबजारी गरेको गुनासो महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

केही महिना अघिको मूल्य र हालको मूल्यमा डण्डी (प्रतिकेजी) मा १५ देखि २० रुपैयाँसम्म मूल्य वृद्धि भएको र ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यबृद्धि भएको महासंघले जनाएको छ । 



महासंघका अनुसार कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायी बाह्र महिना भन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् ।

व्यवसायीमैत्री ऐन कानुनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायीहरु बेला बखत सिर्जना भइरहने यी र यस्तै समस्याका कारण प्रताडित भइरहेको महासंघले जनाएको छ । अन्य विविध कारणले निर्माण परियोजनाहरु समयमै नसकिँदा अरु पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरो रुपमा व्यवसायीमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासंघको भनाइ छ ।



  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १५:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया