पर्वतीय उडान सुरु निजी वायुसेवा कम्पनीले ल्याए आकर्षक प्याकेज

बन्दाबन्दीको आठ महिनापछि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ । लामो समयपछि सुरु भएको उडान यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजीक्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।

बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनः पर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि शनिबारदेखि नै शुरु गर्ने तयारी गरेको भए पनि केही प्राविधिक कारण अर्को मिति तय गरिएको कम्पनीले उल्लेख गरेको छ । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्वतीय उडानमा विशेष अफर ल्याएको छ । 

यसले पनि एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराउने जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको बताए ।

यतीले आगामी मङ्सिर २० गतेदेखि प्रत्येक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यतीले पर्वतीय उडानका लागि ८ हजार ९ सय ९९ रुपैयाँ भाडा निर्धारण गरेको छ ।



पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन् ।

बुद्ध एयरले पनि पर्वतीय उडानका लागि ८ हजार ९ सय रुपैयाँ भाडा तोकेको छ । यसमा झ्यालसँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालका लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।



  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १५:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया