आइतबार परिसूचकसँगै कारोबार रकम पनि उच्च, परिसूचक ७५ अंकले बढ्दा सवा ९ अर्बको कारोबार

पछिल्लो केही दिनदेखि सेयर बजारमा परिसूचकसँगै कारोबार रकमसमेत दैनिक नयाँ उचाइमा पुगिरहेको छ । आइतवार परिसूचक तथा रकम दुवै उच्च बनेको छ ।  परिसूचक ७५ दशमलव शून्य २ अंकले बढेको दिन ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।

 आइतबार २ सय कम्पनीको ८० हजार २७१ पटकको व्यापारमा २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर कारोबार भएको हो । यो दिन नेप्से परिसूचक १९६८ दशमलव २७ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक पनि हालसम्मकै उच्च अंकले बढेको हो ।

९ अर्बभन्दा बढी सेयर कारोबार भएको यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले नै ओगटेको छ । उक्त कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गरेको उक्त कम्पनीको सेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ३२ ले बढेको छ । 

कारोबारमा आएका समूहमध्ये व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् । त्यस बाहेकका सबै समूह बढेका छन् । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् । 

बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आइतबार सबैभन्दा धेरै विकास बैंक समूह ८ दशमलव ११ प्रतिशतले बढेको छ । त्यसपछि बैंकिङ समूह ७ दशमलव ८१ प्रतिशतले बढेको छ ।

यस्तै जीवन बीमा समूह २ दशमलव २४ प्रतिशतले बढेको छ । जलविद्युत समूह १ दशमलव ८ प्रतिशत, वित्त समूह १ दशमलव ३७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ९७ प्रतिशत, म्यूचअल फण्ड समूह शुन्य दशमलव ४१ प्रतिशत र अन्य समूह शुन्य दशमलव ०२ प्रतिशतले बढेको छ ।



नेपाल पुनर्बीमापछि सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ । उक्त कम्पनीले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि आइतवार कारोबार रकम बढेको हो ।

कम्पनीको सेयरमूल्य पनि प्रतिकित्ता २७ ले बढेर अन्तिम मूल्य रू. ३०३ पुगेको छ । उक्त कम्पनीले सोमवार साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यही अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गर्नेछ ।



यो दिन नेप्से परिसूचक पनि ७५ दशमलव शून्य २ अंक माथी उक्लिएर १ हजार ९६८ दशमलव २७ बिन्दुमा पुगेको छ । उता, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १८ दशमलव ७६ अंक बढेर ३८३ दशमलव ९३ विन्दुमा छ ।

आइतवारको बजारमा विकास बैंक र बैंकिङ समूहको सेयरमूल्य सर्वाधिक बढेको छ । समूहगत परिसूचक पनि विकास बैंक समूहको ८ दशमलव ११ प्रतिशत र बैंकिङ समूहको ७ दशमलव ८१ प्रतिशत बढेको छ । 

यो दिन ग्रिन डेभलपमेण्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन ९ प्रतिशतभन्दा बढी सेयरमूल्य १८ कम्पनीको बढेको छ ।

आइतवार ७५ अंकले नेप्से परिसूचक बढ्दा १२ समुहगत परिसूचकमध्ये चार समूहको घटेको छ । व्यापारिक समूहको १ दशमलव ५२ प्रतिशत, होटलको शून्य दशमलव ३८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८५ प्रतिशत परिसूचक घटेको हो । 

यो दिन विकास बैंक र बैैंकिङ समूहसँगै जलविद्युत १ दशमलव ८ प्रतिशत, वित्त १ दशमलव ३७ प्रतिशत, अन्य शून्य दशमलव शून्य २ प्रतिशत, लघुवित्त शून्य दशमलव ९७ प्रतिशत, जीवन बीमा २ दशमलव २४ प्रतिशत र म्यचुअल फण्डको परिसूचक शून्य दशमलव ४१ प्रतिशत बढेको छ । 

आइतवार बजार उच्च अंकले बढे पनि ५० कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन सर्वाधिक १० प्रतिशतले विशाल बजार कम्पनीको सेयरमूल्य घटेको छ । 

  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १६:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया