कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरू घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरूले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरूको भनाइ छ ।
शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ले ‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड–१९ को असर’ विषयक विभिन्न प्रदेशका सात जिल्लाका स्थानीय तहमा गरेकोे अध्ययनले शिक्षकलाई वैकल्पिक माध्यमको सिकाइबारे तालीम अपर्याप्त नभएको पनि जनाएको छ ।
सरकारले महामारीको स्थितिमा पनि शैक्षिक सत्रलाई खेर जान नदिन सूचना तथा सञ्चार प्रविधिको सहायतामा सञ्चालन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको थियो भने हाल स्वास्थ्य जोखिमको अवस्था मूल्याङ्कन गरी स्थानीय तहले विद्यालय खोल्न सक्ने गरी विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ जारी गरेको छ ।
एनसिइ नेपालका लागि शिक्षाकर्मी डा सुरेश गौतम, डा इन्द्रमणि राई, सनम मास्के, राजेन्द्र पहाडी, जनक पन्तसहितको टोलीले गरेको सो अध्ययनले चितवनबाहेक अन्य जिल्लाका २५ प्रतिशत विद्यालयबाट मात्रै वैकल्पिक सिकाइका लागि विद्यार्थीले सहयोग पाएको देखाएको छ । झापा, चितवन, पर्सा, रुपन्देही, पर्वत, दैलेख, बाजुराका स्थानीय तहका कक्षा ४, ८ र ९ का विद्यार्थीसँग अनलाइन सर्वेक्षणसमेत गरिएको सो अध्ययनमा ३३५ अभिभावक, ३५० विद्यार्थी र ८५ जना प्रधानाध्यापक सहभागी थिए ।
पर्सामा बाहेक अन्य जिल्लाका ९४ प्रतिशत अभिभावकले अभिभावक शिक्षा नपाएको देखाएको अनुसन्धानकर्ता डा गौतम र डा राईले बताए । झापामा आमा समूह परिचलान गरी अध्ययन केन्द्र सञ्चालन गरिएको र रुपन्देहीमा साना बालबालिका खेलेर तथा ठूला बालबालिकाले प्रायः सुतेर बन्दाबन्दीको समय बिताएको अध्ययनले उजागर गरेको छ ।
अध्ययनअनुसार ६० देखि ९२ प्रतिशत प्रधानाध्यापक र शिक्षकले वैकल्पिक सिकाइको प्रवद्र्धनका लागि योजना बनाए पनि समुदायस्तरमा सिकाइ कार्यक्रम दिएका छैनन् । विभिन्न जिल्लामा ५० देखि ७५ प्रतिशत बालबालिका अभिभावक र मार्गदर्शनमा घरमै स्वाध्यायन क्रियापलापमा संलग्न भएका छन् भने ६० देखि ९१ प्रतिशतसम्म बालबालिकामा वैकल्पिक माध्यमका रेडियो, टेलिभिजन, मोबाइल र कम्पयुटर इन्टरनेट जस्ता साधनमा पहुँचको अभाव भएको पाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।