‘कोरोना प्रभावबाट अर्थतन्त्रलाई बचाउन सरकार–निजीक्षेत्र सहकार्य जरुरी’

कोरोनाका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउनु पर्नेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । मुलुकमा नयाँ रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको उनको भनाइ छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले कोभिडले सिर्जना गरेको चुनौती सामना गर्न सरकार एक्लैले नसक्ने भएकाले निजीक्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेकोमा जोड दिए ।

सरकारको सामर्थ्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उनको भनाइ थियो ।  कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्यास गर्न लागिएको उनले जानकारी दिए ।

सो कार्यका लागि अर्थ मन्त्रालयले ५८ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरूले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिए ।

वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासंघले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख उनले गर्दै साना तथा मझौला उद्योग कोभिड– १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताए । कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको उनले स्पष्ट पारे ।



नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताए । कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेको उनको भनाइ थियो ।

सेजनको वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिदै आएको सेजन अवार्ड यस वर्ष छापातर्फ बालकृष्ण ज्ञवाली र विद्युतीय माध्यम तर्फबाट सोभित थपलियालाई प्रदान गरेको छ । यस्तै फेलोसिपतर्फ हाइड्रो फेलोसिप जीवन बस्नेत र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप लक्ष्मी सापकोटालाई प्रदान गरेको छ । सेजन सम्मानबाट पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन् ।
 



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १३:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया