साझा र विवेकशील एकता घोषणा शुक्रबार, रवीन्द्र मिश्रलाई ‘अध्यक्ष पनि भन्न सकिने’
फरकधार / १५ मंसिर, २०७७
मिलन पाण्डे र रवीन्द्र मिश्र

आफूहरुलाई वैकिल्पक राजनीतिक पार्टी बताउने साझा पार्टी र विवेकशील पार्टीबीच एकता गर्ने सहमति भएको छ । यसअघि एकता गरेको एक वर्षमा नै फुटेका यी दुई दलले असारदेखि एकताको प्रयासका लागि छलफल चलाउन सुरु गरेका थिए । 

अब यी दुई दलबीच एकताका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, दुवै दलले एकताको लागि सहमति गरिसकेका छन् । एकताका लागि साझा पार्टीले केन्द्रीय कमिटीमा एकता प्रस्ताव पारित गरिसकेको छ । विवेकशीलले केही दिनअघि एकताको विषयमा सदस्यहरुको राय लिन मतदान नै गरेको थियो । विवेकशील नेपाली दलका एक नेताका अनुसार उनीहरुबीच एकताको घोषणा शुक्रबार हुँदैछ ।

‘डकुमेन्टेसनको काम मात्र बाँकी छ, हामीले ढिलोमा शुक्रबार एकताको घोषणा गर्दैछौँ,’ विवेकशीलका ती नेताले फरकधारलाई बताए, ‘अब थप प्रोगेसिभ एजेन्डासहित अगाडि बढ्ने सहमति भएको छ । वैकल्पिक राजनीति गर्ने दुई दल एकै ठाउँमा आउनु निकै राम्रो हो ।’

दुई दलले एकता गरेपछि पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति गरेका छन् ।

‘केही विषयमा अन्तिम सहमति हुन बाँकी छ,’ ती नेताले भने, ‘यो सबै काम मंगलबारसम्म सक्ने र शुक्रबार एकताको घोषणा गर्ने तयारी हो ।’

 

रवीन्द्र मिश्रलाई ‘अध्यक्ष पनि भन्न सकिने’

यी दुई दलले एकतापछि आगामि महाधिवेशनसम्मका लागि दुवै दलका अध्यक्ष मिलन पाण्डे र रवीन्द्र मिश्रलाई संयोजक बनाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार साझाका मिश्र र विवेकशीलका पाण्डे दुवै एउटै वरियतामा रहनेछन् ।

‘दुवैलाई संयोजकको भूमिकामा राखिनेछ,’ स्रोतको दाबी छ, ‘आन्तरिक डकुमेन्टेसनमा चाहिँ मिश्रलाई अध्यक्ष पनि भन्न सकिने लेखिएको हुनेछ ।’

ती नेताका अनुसार संयोजकको भूमिकामा भए पनि पार्टीमा कार्यकारी भूमिकामा पाण्डे रहनेछन् । ‘बाहिर मिश्र र पार्टीभित्र पाण्डेको भूमिका बढी हुनेछ,’ स्रोतले भन्यो ।

‘अध्यक्ष पनि भन्न सकिने’ मिश्र अब पार्टीमा बढी सेरोमोनियल भूमिकामा हुने बताइएको छ । कार्यकारी भूमिकामा पाण्डे हुने र एकताको छ महिनापछि नयाँ पार्टीको एकता महाधिवेशन गर्ने तयारी पनि उनीहरुले गरेका छन् ।

नयाँ पार्टीमा केन्द्रीय कमिटीमा दुवै पार्टीका ५०–५० प्रतिशत रहने तयारी गरिएको छ । त्यस्तै, प्रदेशहरुमा पनि एकता समानताको आधारमा हुने यी दुई पार्टीबीच सहमति भएको छ । 

प्रदेश संयोजक र सहसंयोजकमा एक जना महिला अनिवार्य राख्ने प्रावधानमा यी दुई दलले सहमति गरेका छन् ।

 

धर्म निरपेक्षता, संघीयता र गणतन्त्रमा नो कम्प्रोमाइज, साझा पछाडि हट्यो

यसअघि संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षताबारे जनमतसंग्रह पनि गर्न सकिने भन्दै आइरहेको साझा पार्टी यो एकतामा केही हदसम्म पछाडि हटेको छ । उसले अब यी विषयमा जनमतसंग्रहको कुनै माग नगर्ने विवेकशील पार्टीसँग सहमति गरेको छ । 

त्यसैले अब बन्ने नयाँ पार्टीमा यस विषयमा चर्चा हुने छैन । 

‘अब बन्ने विवेकशील साझा पार्टी थप प्रोगेसिभ पार्टी हुनेछ,’ विवेकशीलका ती नेताले भने, ‘अब एकीकरणपछि बन्ने पार्टीले गणतन्त्रलाई थप स्ट्रङ बनाएर जाने कुरामा सम्झौता गर्नेछैन, कल्याणकारी लोकतन्त्रका विषयमा आफ्नो आवाज थप बुलन्द बनाउने छ ।’

संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा अब कुनै बहस बाँकी नभएकोमा साझा पार्टीले सहमति जनाइसकेको ती नेताले बताए ।


  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १३:४१:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया