किन खोलियो प्रधानमन्त्री ओलीकाे ‘टिकटक’, कसरी प्रयोग हुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जाल ‘टिकटकमा’पनि देखिन थालेका छन् । प्रधानमन्त्री ओलीले सोमबार टिकटकमा व्यक्तिगत एकाउन्ट खोलेर आफ्नो उपस्थिति देखाएका हुन् । 

पछिल्लो समय विश्वसँगै नेपालमा पनि सामाजिक सञ्जाल टिकटक लोकप्रिय बन्दै गएको छ । सामान्यतया १५ देखि ५९ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सकिने टिकटकको उपयोग नेपालमा अत्यधिक हुने गरेको छ । कलाकारले आफ्नो सिर्जना प्रयोग गर्ने थलोका रुपमा समेत टिकटकलाई बनाएका छन् । 

यसै सन्दर्भमा टिकटकमा नयाँ एकाउन्ट खोलेसँगै प्रधानमन्त्री ओलीले एउटा भिडियो पनि पोष्ट गरेका छन् । प्रधानमन्त्रीको टिकटक एकाउन्ट ‘भेरिफाइड’ समेत गरिएको छ । 

यस सम्बन्धमा हामीले प्रधानमन्त्री ओलीको एकाउन्ट कसरी उपयोग गरिन्छ भनेर उनको सचिवालयलाई प्रश्न गरेका छौ । टिकटकसँग पनि ठूलो समाज जोडिएकाले त्यो समाजसम्म पुग्ने माध्यमको प्रयोग गर्नेक्रममा टिकटक एकाउन्ट खोलिएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईले बताए । 

राजनीति गर्ने व्यक्ति भएका कारण प्रधानमन्त्रीले बोलेका कुरा नै टिकटक एकाउन्ट पोष्ट गरिने उनले जानकारी दिए । ‘टिकटकमा पनि ठूलो समाज जोडिएको छ, त्यो पनि समाजसम्म पुग्ने एउटा माध्यम हो । त्यहाँ प्रधानमन्त्री ज्यूले आफ्ना कुरा राख्नुहुन्छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ बजगाईले भने, ‘उहाँले बोलेका कुरा नै पोष्ट गर्ने हो । अहिले जुन प्रकारको भिडियो हालिएको छ । त्यस्तै खालका भिडियो नै पोष्ट हुन्छ । उहाँ नाचगान गर्नुहुन्छ । राजनीति गर्ने मान्छेले बोलेका कुराहरु नै हाल्ने हो ।’

प्रधानमन्त्रीको आइटी विभागले सामाजिक सञ्जाल कुन–कुनमा प्रधानमन्त्रीको कुरा लैजान सकिन्छ ? कुन प्लेटफर्म राम्रो छ भनेर अध्ययन गर्र्दै आएको छ । त्यसैक्रममा ६ महिना पहिले आइटी विभागले प्रधानमन्त्रीलाई सामाजिक सञ्जाल टिकटकमा पनि प्रधानमन्त्रीका कुरा राख्न उपयुक्त हुने सुझाब दिएको थियो । 



सोहीअनुसार आइटी विभागले प्रधानमन्त्री ओलीको टिकटक खाता केही दिनअघि नै खोलेर भेरिफाई गर्न अनुरोध गरेको थियो । टिकटकले उक्त अनुरोध स्वीकार पनि गरेको छ । प्रधानमन्त्री ओलीका नाममा यसअघि पनि थुप्रै  एकाउन्ट खोलिएका छन् । तर, ती एकाउन्ट भने, त्यति प्रयोगमा छैनन् । 

प्रधानमन्त्रीको टिकटक खाता खोलेर एउटा भिडियो पोष्ट गरेसँगै फलोअर्स, लाइक र भ्युज बढ्दो छ । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्रीको टिकटकमा १३ हजार ५ सयभन्दा बढी फलोअर्स पुगेका छन् भने, भिडियो लाइक गर्नेको संख्या ३८ हजार पुगेको छ । त्यस्तै, भिडियोको भ्युज भने, पाँच लाखको हाराहारी पुगेको छ । 



के छ प्रधानमन्त्री ओलीको पहिलो टिकटक भिडियोमा ?

‘मालपोत, विद्युत् महसुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको छ ।’

  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १७:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया