कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा ४२ वटा अस्पताल शिलान्यास गरिएको छ । संघीय सरकारको ‘एक स्थानीय तह एक अस्पताल निर्माण अभियान’अन्तर्गत ती स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको हो ।
प्रदेशका १० वटा जिल्लामा ५ शय्याको एक, १० शय्याका नौ र १५ शय्याका ३२ वटा अस्पताल निर्माण हुनेछन् । जसमा सल्यानका ८ स्थानीय तहमा, दैलेख र सुर्खेतका ७–७ स्थानीय तहमा अस्पताल निर्माण हुनेछन् ।
त्यस्तै, जाजरकोट र हुम्लाका ४–४ स्थानीय तहमा, रुकुम पश्चिम र डोल्पाका ३–३ स्थानीय तहमा, जुम्ला र कालिकोटका २–२ स्थानीय तहमा अस्पताल निर्माण हुने सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
अस्पतालको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा सामाजिक विकासमन्त्री दल रावल, विभिन्न क्षेत्रका निर्वाचित सांसद तथा जनप्रतिनिधिले शिलान्यास गरेका छन् ।
सोमबार सुर्खेतको सिम्ता गाउँपालिकामा अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री रावतले अस्पताल निर्माणमा बजेटको कुनै अभाव नहुने बताए । अस्पताल निर्माणको लागि बजेटको सुनिश्चितता गरिएको भन्दै उनले तीव्रताका साथ निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई आग्रह गरे ।
राज्यमन्त्री रावतले यसअघि शुक्रबार, शनिबार र आइतबार वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली, बराहताल गाउपालिका–५ बड्डिचौर, चौकुने गाउँपालिका–४ बिजौरा र पञ्चपुरी नगरपालिका–२ साल्कोटमा निर्माणाधीन अस्पताल शिलान्यास गरिसकेका छन् ।
अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा यसअघि नै पठाएको थियो । सोहीअनुसार स्थानीय तहहरुमा आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास थालिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।