खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७–०७८ को पहिलो चौमासिकको कार्यप्रगति सार्वजनिक गरेको छ । कोभिड—१९ संक्रमणको जोखिमकाबीच विभागले पहिलो चार महिनामा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा र गरेका कामहरुको विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार विभागले पहिलो चौमासिकमा बजार निरीक्षण गरी ११ सय ७९ नमुना संकलन गरेकोमा ७० नमुनाहरु मापदण्डअनुसार नभएको पाइएका छन् । सबैभन्दा बढी पिउने पानीका २१ नमुना, दानाका १६, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यान्नका १० नमुनालगायत अन्य खाद्य पदार्थका नमुना मापदण्डअनुसार नभएको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
विभागले आफ्नो मातहतका कार्यालयबाट खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८ सय ७६ नमुना समेत संकलन गरेको उनले बताए । विभागले खाद्य ऐन नियमअनुसर न्यूनस्तर तथा दूषित उत्पादन र बिक्री–वितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा २६ वटा मुद्दा दायर गरेको छ । सबैभन्दा बढी पिउने पानीका मुद्दा ५ वटा रहेको उनले बताए ।
यस्तै खाने तेलका ३, बेकरीका ३, दाना, चाउचाउ र मिठाइका २—२ वटा रहेका छन् । घ्यु, चामल, सस, काजु किसमिसलगायत विभिन्न खाद्यपदार्थका मुद्दासमेत रहेको उनले बताए । दायर मुद्दाहरुमध्ये ८ वटा न्यून गणस्तर, ७ दुषित, ७ वटा लेबललगायत विवरण नमिलेका थिए । ४ वटा मुद्दा खाद्य ऐन–नियम निर्देशिका उल्लंघनसम्बन्धी रहेको प्रवक्ता महर्जनले बताए ।
विभागले पहिलो चौमासिकमा खाद्य–दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायतमा १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरेको छ । पिउने पानी, खानेल तेल होटललगायत विभिन्न विषयमा परेका १५३ उजुरीहरुको तत्काल सुनुवाइ गरी कारबाही गरिएको पनि विभागले जनाएको छ ।
खाद्य ऐन, २०२३, खाद्य नियमावली २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगरेको पाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायको उत्पादन रोक्का गरिएको छ । जसमा पिउने पानीका १५, खाद्यान्न तथा दलहनका ८, दूध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यवसाय रहेका छन् ।
विभागले पहिलो चौमासिकमा विभिन्न १२ नाकामा रहेका कार्यालयबाट २५ हजार १५४ नमुना संकलन गरी जाँच गर्दा पापड, चामल, बदाम, मसला, मैदालगायत २५ वटा नमुना प्रतिकुल रहेकाले आयात रोक्का गरिएको जनाएको छ । विभागले पहिलो चौमासिकमा खाद्य स्तर निर्धारण कार्यक्रम अन्तर्गत प्राविधिक र विज्ञहरुसँग छलफल गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।