ललितपुरमा नगरको निर्णयसँगै विद्यालय खुल्दै : कुन नगरको के छ अवस्था ?

ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । 

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।

जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । ‘काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ’, उनले भने ।

अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । 

महालक्ष्मी नगरपालिकामा कोरोना जोखिम अझै रहँदा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको शिक्षा शाखा प्रमुख सुनिता योङहाङले बताइन् । 

गोदावरी नगरपालिकाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक २० गते निर्णय गरेको विद्यालय सञ्चालन कार्याढाँचा, २०७७ मा उल्लेखित प्रावधानलाई पूर्णपालना गर्दै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी पठनपाठन गर्ने र गराउने भनी अनुरोध गरिसकेको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताए । 



‘कम विद्यार्थी भएका विद्यालयमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न लगाउने, सम्भव भएका विद्यालयमा वैकल्पिक प्रणाली अपनाउने र सम्भव नभएका विद्यालयमा उपयुक्त सिकाइ विधि पालना गर्नेछौँ’, उनले भने ।

दक्षिण ललितपुर वाग्मती गाउँपालिका शिक्षा समिति बैठकले सम्भव भएका कुरालाई पालना गरेर अघि बढ्न आग्रह गरिसकेको शिक्षा शाखा प्रमुख शेषकान्त पौडेलले बताए । 



महाँकाल गाउँपालिकामा विद्यालय खोल्ने निर्णय भइसकेको छैन । मन्त्रालयले जारी गरेको निर्देशिकाबमोजिम आफ्नो अनुकूलताअनुसार विद्यालय खोलिने भएको शिक्षा शाखा प्रमुख ओमप्रसाद जोशीले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा विद्यार्थी सङ्ख्या र कक्षाकोठाअनुसार अध्ययन र अध्यापनलाई अघि बढाइरहेको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले बताए। 

‘हामीले सम्भव भएका विद्यालय कहीँ बिहान, कहीँ दिउँसो र कुनै स्थानका विद्यार्थीलाई दुईदेखि तीन घण्टा मात्र भए पनि सिकाइरहेका छौँ’, उनले भने । 
 

  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १०:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया